४० काटुन आँप नियन्त्रणमा
गुगलपाटी संवाददाता इटहरीउपमहानगरको बजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो ।
इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको काटुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कार्वाइड भएको पत्ता लागेको हो । कार्वाइड नेपालमा प्रतिबन्धित छ । कार्वाइड प्रयोग गरेर पकाएको आँपको ४० काटुन उठाएर उपमहानगरमा ल्याइएको छ । उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र संचारकर्मीको रोहबरमा मुचुल्का उठाइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ । खाद्यविज्ञ केपी लम्सालका अनुसार कार्वाइड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ ।
लम्सालले आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर पार्ने बताए । कार्वाइड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
कार्वाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुने लगायतका शारीरिक समस्या उत्पन्न हुनुका साथै गम्भीर प्रकारको क्यान्सरसमेत हुनसक्ने चिकित्सकले चेतावनी दिएका छन् । नेपालमा प्रतिबन्धित कार्वाइड प्रयोग गरेर पकाइएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइएपछि उपमहानगरले बजार अनुगमन गरेको उपभोक्ताहित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाईले बताए ।
कार्वाइड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहँेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने अनुगमनमा सहभागी उपभोक्ता हित मञ्चका प्रतिनिधि डिल्ली दाहालले बताए । त्यस्तै सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशीका अनुसार नेपालमा कार्वाइड प्रतिबन्धित छ ।
कार्वाइड प्रयोग गरेर पकाएको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकका अनुसार कार्वाइड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन ।
कार्वाइडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ । कार्वाइड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सरसमेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको हो ।
खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कार्वाइड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँचदेखि दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कार्वाइड हालेको आँप बेच्न राखेको पाइए उपमहानगरमा तुरुन्त खबर गर्न उपभोक्तासँग आग्रह गरे । स्रोत : राजधानी