युनिलिभर बसामाडी गेटमा मजदुरको धर्ना, ४१ जनालाई प्रहरीको नियन्त्रणमा
गुगलपाटी संवाददाता हेटौँडामजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका छन् ।
विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका मजदुरहरुले १० औँ वर्षबाट काम गरिरहेको आफुहरुलाई उद्योग प्रशासनले विना क्षतिपूर्ती जागिर बिहिन बनाएको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश नंबर ३ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका इन्द्रबहादुर बाँनीयाको लगानी रहेको उद्योगले युनिलिभरको लागि सेम्फु उत्पादन गर्दै आएको थियो ।
यस अघि पटक–पटक आन्दोलन गरेपनि कुनै निश्कर्ष निस्कन नसकेपछि आज मजदुरहरुले युनिलिभरको गेटमा धर्ना दिएका हुन् ।