बौद्ध सम्मेलनको व्यवस्थापन भद्रगोल
गुगलपाटी संवाददाता भैरहवाशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पुर्व सन्ध्यामा बौद्ध सम्मेलन सुरु भएको छ । लुम्बिनी विकास कोषद्धारा आयोजित बौद्ध सम्मेलनमा अतिथीहरुलाई बस्नका लागि कोषले प्रयाप्त कुर्सी, सम्पर्क व्यक्ति लगायतको राम्रो व्यवस्थापन नगर्दा बौद्ध सम्मेलनको व्यवस्थापन भने लथालिङ्ग भएको छ ।
बौद्ध सम्मेलनका आमन्त्रित अतिथीहरु बस्नका लागि कुर्सी समेत नहुदाँ उनीहरु भुईमा बस्न बाध्य भएका छन् । समाचार संकलनका लागि सम्मेलनमा पुगेका पत्रकारहरु समेत अन्यौलमा परेका छन् । उनीहरुलाई सम्मेलन जारी रहेको हलमा बस्ने व्यवस्था समेत गरिएको छैन ।
त्यस्तै कोषले सम्मेलनमा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई निमन्त्रण पठाएपनि वरियता नमिल्दा उनी सम्मेलनमा सहभागी नभएको बुझिएको छ । यस्तै पाँच नम्बर प्रदेशको संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री लिला गिरीलाई कोषले सम्मेलनमा आमन्त्रण गरेर आसनग्रहण समेत नगराउँदा सहभागीहरुमा मन्त्रीको अपमान भएको उनीहरुको निकटतम व्यक्तिहरुले बताए ।
सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीले गरेका छन् । यस्तै बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउने कोषले जनाएपनि सम्मेलनमा कुनै मुलुकको मन्त्री पनि सहभागी भएका छैनन् ।
बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित ३१ जनाले विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कोषले जनाएको छ । सदस्य सचिव सरोज भट्टराईले १६ जना राष्ट्रिय र १५ अन्तराष्ट्रिय गरी ३१ जनाले विभिन्न उपशीर्षकहरुमा बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने छन् ।