संखुवासभामा आएको बाढी पहिरोले करोडौँ भन्दा बढिको क्षति
गुगलपाटी संवाददाता संखुवासभासंखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले करोडौँ रुपैयाँभन्दा बढिको क्षति भएको छ ।
केहीदिन अघिदेखि उत्तरी भेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।
वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ । उहाँको अनुसार, टिनको छानो भएको २ तले घरको माथिबाट वर्षासँगै झरेको माटोको ढिस्कोले घरमाक्षति पुर्याएको हो ।
अरुण तेस्रो जलविद्युत परियोजनाको दुई एक्स्काइभेटर पुरिए
वर्षाले मकालु गाउँपालिका–३, स्थितमा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइटमा ठूलो क्षति पुगेको प्रनाउ लामाले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटर–२, बुमर मेसिन–१,लोडर–१, ट्याक्टर–१ कम्प्रेसर मेसिनलगायतका निर्माण सामग्री र उपकरणा पुरिएका छन् ।
त्यसैगरी फयाक्सिदा डयामसाइटको पारिपटिट नयाँबस्तीमा खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्ट्रक्सनको एक्स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल झरेर अड्किएको अवस्थामा रहेको पनि जनाइएको छ ।
चिचिला गाउँपालिका–४ मा रहेको खाँदबारी–किमाथांका सडकखण्डको सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म अन्दाजी ३ किलोमिटर दूरीको सडक खण्डमा अवरोध भएका कारण उत्तरी क्षेत्रको नुम, गोला र किमाथाङ्का जाने गाडी पूर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा रहेको यस क्षेत्रमा बिजुली पनि बन्द भएको छ ।