देउवालाई प्रधानमन्त्रीको कटाक्ष, ‘उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो’

गुगलपाटी संवाददाता काठमाडौँ
३ असार २०७६ १२:०२

प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार देखाएको भन्दै आपत्ति जनाएका छन् । सिंहदबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संसद्‌मा पहिले प्रधानमन्त्री बोल्ने, त्यसपछि प्रमुख विपक्षी दलका नेता बोल्ने संसारभरको संसदीय प्रक्रियाविपरीत कांग्रेसले अमर्यादित क्रियाकलाप गरेको बताए ।

‘प्रधानमन्त्रीले बोल्ने भनेर पहिले तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनुपर्छ भनेर अड्डी लियो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यत्तिमात्रै गरेन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसद्को काम कारबाही अवरुद्ध परे, विषय केही थिएन ।’

‘शेरबहादुर देउवा आफैंले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा म आश्चर्यचकित भएँ । उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो’ उनले भने । प्रधानमन्त्री ओलीले कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्नेमात्रै काम गरिरहेको आरोप लगाए ।स्रोत : कान्तिपुर