हेटौंडाका युवा सहित नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै
गुगलपाटी संवाददाताहेटौंडा : अहिले हेटौंडाका युवाहरु भारतमा ओरियन्टस ग्लोबल मार्केटिङमा काम गर्ने भन्दै धमाधम भारततर्फ जाँदै गरेको भेटिन्छन् । हेटौंडाका एक सय भन्दा बढि युवालाई अहिले भारतका नेटवर्किङ कम्पनीले ठग्दै गरेको पाईन्छ ।
हेटौंडाका मात्रै होइन नेपालका विभिन्न स्थानबाट युवाहरुलाई फसाई रहेका छन् । स्थानीय दलाल मार्फत गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याउने गर्छन नेपाली युवाहरुलाई अनि ठगिन सुरु हुन्छन युवा । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए ।
त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्याएर अरूलाई सदस्य बनाउने ।
दुर्गासिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।
राजविराज नपा–१४ का रामकृष्ण ठाकुर प्यूठानको भिंग्री भन्ने ठाउँमा कपाल काट्ने व्यवसाय गर्छन् । नजिकको साथीले लोभ्याएपछि उनी पनि त्यस कम्पनीको कार्यालयमा पुगे । तालिम लिए । औषधि किनेर सदस्य बने र अरूलाई सदस्य बढाउन जुटे । सन्तकुमार, दुर्गासिंह, रामकृष्ण अहिले प्रहरी नियन्त्रणमा छन् । प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भएको र अरूलाई पनि आबद्ध गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको यसमा आबद्धताको सूचना भने प्रहरीलाई ओरियन्टस ग्लोबल मार्केटिङको तालिममा जान लागेकाहरूले दिएका हुन् । गत जेठ १० गते सुनौली नाका हुँदै आउँदै गरेका ८ जना नेपाली युवतीलाई प्रहरीले सोधपुछ गर्दा गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङबाट तालिम लिएर फर्केको जवाफ आयो । प्रहरीले थप चासो देखायो ।
ती युवतीले दिएको सूचनाका आधारमा प्रहरीले भोलिपल्टै सिद्धार्थनगर–७ स्थित एउटा घरमा खनतलासी गर्दा १३ जना युवा भेटिए । ती सबै तालिम लिएर उक्त कम्पनीको सदस्य बन्न गोरखपुर जाने तयारीमा थिए । घरको फ्ल्याट कम्पनीबाटै भाडामा लिइएको थियो । जेठ २४ गते पनि सुनौली नाका हुँदै भारततर्फ जान लागेका आठरनौ जना नेपाली युवतीको समूह देखेपछि बेलहियामा प्रहरीले रोकेर सोधखोज गर्यो । सबैले गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन जान लागेको बताए । प्रहरीले थप सोधखोज गर्यो ।
युवतीको समूहबाट प्राप्त सूचनाका आधारमा तत्कालै देवदह–११ शखरपुरस्थित एक घरमा खनतलासी गर्दा १४ जना युवती र १४ जना युवक फेला परे । उनीहरू सबै नेपाली थिए । तीमध्ये कोही अधिकांश ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन र सदस्य बन्न जाने क्रममा थिए भने कोही तालिम लिएर फर्केका थिए । त्यहाँ पनि एउटा सिंगै घर उक्त कम्पनीले भाडामा लिएर प्रयोग गरेको थियो । फेला परेकामध्ये अधिकांशलाई अभिभावकको जिम्मा लगाएर प्रहरीले घर पठाइदिएको थियो ।
तालिम लिन र सदस्य बन्न उक्साउने तीन जनालाई नियन्त्रणमा लिई कारबाही थालेको छ । ती हुन्, सन्तकुमार, दुर्गासिं र रामकृष्ण । ‘सोधपुछका क्रममा हजारौं नेपाली त्यस कम्पनीमा पुग्ने गरेको थाहा पायौं । सातादस दिनमै करोडौं नेपाली रुपैयाँ त्यहाँ जम्मा भइरहेको अनुमान छ,’ रूपन्देहीका एसपी हृदय थापाले भने । उनका अनुसार उनीहरूले आफू जसरी सदस्य बनेका छन्, त्यसरी नै प्रलोभन देखाएर गाउँका युवालाई कम्पनीमा पुर्याउने गरेका छन् ।
नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको संख्या कति छ भन्ने कतै लेखाजोखा छैन । सदस्य बनिसक्दा पनि धेरैलाई कम्पनी कस्तो हो भन्ने थाहै छैन । ‘जति धेरै सदस्य बनाउन सक्यो उति धेरै कमिसन बढदै जाने भनिएकाले म लोभिएँ,’ भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका सन्तकुमारले सुनाए ।
नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ । तर कारोबारीले भारतको गोरखपुर, बनारस र कुशिनगरलगायतमा विभिन्न नामका कम्पनी खडा गरेर नेपालीलाई नै नेटवर्किङ व्यवसायको जालोमा पारिरहेका छन् । यस्ता कम्पनीले नेपालमा घर नै भाडा लिएर सेल्टरका रूपमा प्रयोग गर्ने गरेका छन् ।
यस्ता सेल्टर कहाँ कति छन्, खुलिसकेको छैन । उनीहरूले औषधि र कपडा व्यवसाय देखाउँछन् । कम्पनी भारतमा रहे पनि त्यहाँका नागरिक सदस्य बनेको पाइँदैन । ‘नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित देखिन्छन्,’ एसपी थापाले भने, ‘उनीहरूले गाउँका सोझासाझा युवायुवतीलाई धेरै कमाइ हुने लोभ देखाएर फसाइरहेका छन् ।’
यसअघि पनि धेरै भारतीय कम्पनीबाट नेपाली ठगिने गरेका थिए । प्रहरीले कुनै एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरेको देखिन्छ । एसपी थापाका अनुसार ओरियन्टसमा सदस्य बन्न नेपालीले ८० हजारदेखि २ लाख भारुसम्म तिरेका छन् । अधिकांशले आफ्ना नातेदार र नजिकका साथीभाइलाई सदस्य बनाउने गरेका छन् । धेरैअघि सदस्य बनेको भए पनि ठूलो परिमाणमा कमिसन र धेरै तलब पाएको कोही पनि भेटिएका छैनन् ।
प्रहरी अनुसन्धानअनुसार रोल्पा, रुकुम, प्यूठान, कालिकोट, दाङ, सप्तरी, नवलपरासी, कपिलवस्तु, धादिङ, गोरखा, स्याङ्जा, अर्घाखाँची, बागुलङ, पर्वत, काभ्रे, झापा, ललितपुरलगायत जिल्लाका युवा भारतीय नेटवर्किङ कम्पनीको सदस्य बनेका छन् । ‘हजारौं नेपाली युवाले करोडौं लगानी गरिसकेका छन्,’ एसपी
थापाले भने ।
पाँच सञ्चालकविरुद्ध मुद्दा
रूपन्देही प्रहरीले डेढ वर्षअघि भारतीय भूमिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी हजारौं नेपालीलाई ठग्दै आएका पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । ती पाँचैजना नेपाली नागरिक थिए । प्रहरीले संगठित रूपमा ठगी अभियोगमा चलाएको उक्त मुद्दा अदालतबाट फैसला हुन बाँकी छ ।
मुद्दा चलाइएकामध्ये लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा र दाङ लमही नगरपालिका–४ का कुशलराम चौधरी, धादिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर धरौटीमा छुटेका छन् ।
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–३ का चन्दितसिंह मोक्तानलाई पाल्पा र बाराको निजगढ नगरपालिका–१२ का दावा लामालाई कपिलवस्तु कारागारमा चलान गरिएको छ । लामा र चौधरी गोरखपुरमा ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालि, मगर बनारसमा विन विन ट्रेडमार्ट प्रालि तथा मोक्तान र दावा कुशिनगरस्थित फुलटन ट्रेडमार्ट प्रालिका सञ्चालक रहेको दाबी प्रहरीको थियो ।
एकै व्यक्तिबाट ३ लाखभन्दा धेरै रकम असुल्ने गरेको बयान पीडितले प्रहरीसमक्ष दिएका थिए । दर्पण लामा र कुशलराम चौधरीबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ३९ जनाले जाहेरी दिएका थिए । यस्तै, ज्ञानेन्द्र मगरविरुद्ध २३ र र दावा लामाविरुद्ध १८ जनाले ठगिएको भन्दै पीडितले उजुरी गरेका थिए ।
उनीहरूले ८ हजारदेखि १० हजार भारु लिएर सदस्य बनाउने र साता दिन तालिम दिएर सदस्य खोज्न लगाउने गरेका थिए । उनीहरूलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताइएको थियो । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिसन आउन थालेपछि खरिद गरेकोभन्ने गरिन्थ्यो ।
५ नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष प्रकाश श्रेष्ठ नेटवर्किङ व्यवसायमा कसैलाई संलग्न गराउनु गलत रहेको बताउँछन् । ‘नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । विदेशी विनिमय ऐनअनुरूप नेपाली नागरिकले बाहिरी देशमा पुँजी जम्मा गर्न पनि मिल्दैन,’ श्रेष्ठले भने । उनले भारतमा रहेका नेटवर्किङ कम्पनीका कारण स्वदेशको पुँजी पलायन हुँदा शोधनान्तर घाटामा असर पुग्ने र लगानीयोग्य पुँजीको अभाव खेपिरहेका स्वदेशी वित्तीय संस्थालाई अझ समस्या हुने बताए ।
–कान्तिपुर दैनिकको समाचारको सहयोगमा तयार पारिएको ।