बालविवाह रोक्न गएको प्रहरीलाई नै गरे प्रहरीले अवरोध
गुगलपाटी संवाददाता वीरगन्जपर्सा जिल्लामा बाल विवाह रोक्न पुगेको प्रहरी टोलीलाई प्रहरी जवानले नै रोक्ने प्रयास गरेका छन् ।
वीरगन्ज महानगरपालिका–२७, उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोलीलाई प्रहरी जवानले अवरोध पुर्याउन खोजेका हुन् । अवरोध गर्न खोजेपछि प्रहरीले वुलेटप्रसाद यादवलाई पक्राउ गरेको छ।पक्राउ परेका यादव भोटेचौर सिन्धुपाल्चोक दरबन्दी भई सोही स्थानमा कार्यरत प्रहरी जवान रहेको बुझिएको छ ।
पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बाल विवाह रोक्न गएको प्रहरी टोलीमाथि यादवले अवरोध पुर्याएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ परेका प्रहरी जवान यादवविरुद्ध विभागीय कारबाही र ऐन अनुसार दुवै कारबाहीको पक्रिया अघि बढी सकेको प्रहरीले जनाएको छ ।बाल विवाह गर्न गराउन खोज्ने केटा र केटी दुवै पक्षका अभिभावकहरु भने फरार छन् । प्रहरीले उनीरुको खोजी कार्य भइरहेको जनाएको छ । केटा पक्षले विवाहको सम्पूर्ण खर्च बेहोर्ने शर्तमा विवाहको टुंगो लगाइएको थियो ।
यही वैशाख १३ गते ११ र १३ वर्षका दुई बालिकाको विवाहको लागि सम्पूर्ण तयारी गरी पुजा हुँदैछ भन्ने सूचना प्रहरीकोमा आएको थियो । ६० जना प्रहरीको टोली विवाह हुन लागेको घरमा पुग्दा ११ र १३ वर्षका बालिकासँग बिबाहको लागि सम्पुर्ण तयारी गरी पुजा गर्दै थिए । प्रहरीलाई देख्ने बित्तिकै बाल विवाहमा सहभागी भएका केटा तथा केटी पक्ष भागेको प्रहरीले जनाएको छ ।