सांसद महन्थको प्रश्न : प्रहरीको गोली लागेका शहीद, पक्राउ परेका कसरी अपराधी ?

गुगलपाटी संवाददाता काठमाडौं
५ असार २०७६ ०९:५७

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले मधेशी जनतामाथि सरकारले आन्तरिक नाकाबन्दी गरेको आरोप लगाएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नहुँदा मधेश सशंकित रहेको उनले बताए ।

विनियोजन विधेयकमाथि बिहीवार संसदमा भएको छलफलमा भाग लिँदै ठाकुरले सरकारले मधेशमा आन्तरिक नाकाबन्दी गरेको आरोप लगाएका हुन् ।

‘यहाँ (संसदमा) नाकाबन्दीको कुरा सुनिन्छ, मधेशमा आर्थिक नाकाबन्दीको बारे कोही बोलेको छ ? मधेश नेपालको आन्तरिक उपनिवेशको अवस्थामा छ,’ ठाकुरले भने, ‘जेलमा रहेका बन्दीलाई पनि बिहान–बेलुका काम नगरी खुरक पाइन्छ, त्यही अधिकार हो भने त हामी अधिकारसम्पन्न भएका छौं तर विभेदको विरुद्धमा संघर्ष जारी छ, रहिरहन्छ ।’

ठाकुरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नहुँदा मधेशमा आक्रोश बढेको बताए । ‘हरेक ठाउँमा मधेश सशंकित छ, भय छ, पीडा छ । रेशम चौधरी निर्वाचित हुनुहुन्छ, जेलमा हुनुहुन्छ । कोही पुछ्नेवाला छैन,’ ठाकुरले भने, ‘प्रहरीको गोली लागेकालाई शहीद घोषणा गर्ने सरकारले पक्राउ परेकालाई अपराधी भनेर थुनिरहेको छ । शहादत प्राप्त गरेका शहीद भए घाइते कसरी अपराधी ?’ आन्दोलनमा सहभागी नभएको तथा विदेशमा रहेको मानिसमाथि समेत झूटा मुद्दा लगाइएको उनले आरोप लगाए ।

सत्तामा बस्नेको एकल जातीय राष्ट्रवादी मानसिकताले समस्या निम्तिएको उनले दावी गरे । ‘एउटा भाषामा, ड्रेसमा राष्ट्रियता देख्ने र अर्को समुदायले आफ्नो भाषा, संस्कृतिमा राष्ट्रियता हेर्दा साम्प्रदायिकता देख्ने काम भएको छ । सत्तामा बस्ने राष्ट्रिय अरु भाषाभाषीको राष्ट्रियता छैन ? कसैले आफ्नो भाषा र संस्कृतिमा राष्ट्रियता हेर्दा अपराधी भयो त ?’ ठाकुरले प्रश्न गरे ।