‘दलको नेता, पार्टी अध्यक्षबीच हाम्रो संवाद छैन, त्यसैले आफ्नो कुरा बाहिरी फोरममा भन्नुपर्ने अवस्था छ,’ नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षलाई संसद्को अघिल्लो लहरमा, टीभी, पत्रपत्रिकामा मात्र हामी देख्छौं ।’ उनका अनुसार संवादहीनताका कारण पार्टीले के गर्दै छ, के गर्ने हो, अन्योल छ । संसद्भित्र बोल्दा सरकारको स्वामित्व लिनेभन्दा प्रतिपक्षीको जस्तो भूमिकामा आफू उभिन बाध्य हुनुपरेको उनले सुनाइन् ।
अधुरो एकता
पार्टी एकताको काम पूर्ण भएको छैन । एकताले पूर्णता नपाएको भन्ने नाममा बैठक, छलफल, परामर्श लगायतका संस्थागत गतिविधिलाई टार्ने प्रवृत्ति झाँगिन थालेको छ । त्यसकै दुष्परिणाम अहिले देखिन थालेको नेकपाका नेता तथा सांसद राम कार्की बताउँछन् ।
‘विभिन्न नाममा पार्टीको संस्थागत जीवनचाहिँ अपायक बनाउँदै लगियो, अति केन्द्रीयता बढ्यो,’ नेता कार्कीले भने, ‘त्यसको दुष्परिणाम भनेको अराजकता हो, पार्टी भनेपछि तल्लो इकाईमा जोडिँदै जानुपर्छ, जुन हुन सकेको छैन ।’ संस्थागत अवयवहरू चलायमान नहुँदा त्यसले पार्टीलाई कमजोर बनाउने उनले बताए ।
दुई पार्टीको एकता भएपछिको संक्रमणकाल लम्बिएको लम्बियै छ । नेकपाभित्र केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइएको छैन । झन्डै साढे चार सय केन्द्रीय नेताहरू के काम गर्ने भन्ने अन्योलमा छन् ।
पार्टीभित्र विभिन्न विषय हेर्ने विभागहरू छन् । ती विभागहरू बनेका छैनन् । जसका कारण केन्द्रीय नेताहरू कामविहीन भएका छन् । ‘संस्थागत ढंगले कुन निर्णय भएर यसरी जाने र यो जिम्मेवारी हुने भन्ने स्पष्ट भए काममा खटिन सकिन्थ्यो । यो नगर्दा पार्टीको संगठनात्मक, वैचारिक, राजनीतिक काम अवरुद्ध छ,’ केन्द्रीय सदस्य अधिकारीले भने ।
नेकपाभित्र दुई अध्यक्षको निर्णयलाई नै पार्टी, संसदीयको आधिकारिक निर्णय मान्नुपर्ने अवस्था छ । एकताको संक्रमण नसकिएकाले कहिलेकाहीँ दुई अध्यक्षबीचमै विवाद आउँछ । दुई अध्यक्षबीचकै विवाद बाहिर छताछुल्ल हुँदा तलका नेता, सांसद अन्योलमा पर्ने गरेका छन् । कुन लाइन लिने, के बोल्ने भन्नेमा उनीहरू दोधारमा पर्छन् । त्यस्तो अवस्थामा स्वाभाविक रूपमा एकीकरण पूर्वको धार जता छ, त्यतैको हाँगो पक्रिन्छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी समिति सदस्य देव गुरुङले नेताहरूको व्यस्तताका कारण नियमित बैठक र छलफल केही पातलो भएको बताए । ‘सरकारमा रहेको पार्टी भएकाले मुख्य नेताहरू केही व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘समयले भ्याएसम्म हामी छलफल गर्न खोज्छौं तर कामको चापाचाप हुन्छ ।’ उनले संसद्भित्र पार्टीका सांसदहरूको धारणामा एकरूपता नरहने गरेको स्विकारे ।
उनले यो अवस्थालाई ‘संसदीय लोकतान्त्रिक व्यवस्था’ को चारित्रिक विशेषता भन्दै सैद्धान्तीकृत गर्न खोजे । ‘राष्ट्रलाई नै उद्वेलित गर्ने विषयहरू कहिलेकाहीँ आउँछन्, कम्तीमा त्यस्ता विषयमा पार्टीको संयन्त्रमार्फत सबैलाई सर्कुलर हुनुपर्छ नि,’ सांसद खतिवडाले भने, ‘जति ठूलो घेरामा बस्यो, त्यति राम्रो हुने हो, यो कुरा नेतृत्वले बुझ्नै चाहेको छैन ।’स्रोत : कान्तिपुरदैनिक