राजधानी खोज्न समिति बनेपछि राँक्कियो जनसरोकार केन्द्र(बिज्ञप्ती सहित)

गुगलपाटी संवाददाता मकवानपुर,१५ बैशाख
१५ बैशाख २०७५ १२:३९

माघ ३ गते सम्पन्न तत्कालिन देउवा सरकारको मंत्री परिषदको बैठकले प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौंडा निर्धारण गरेकोमा अहिले राजधानी सार्ने खेल भइरहेको भन्दै जनसरोकार केन्द्र मकवानपुरले आपत्ति जनाएको छ ।
समितिका संयोजक धुब्र प्रसाद चौलागाईले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश ३ को राजधानीको सम्भाब्यता अध्ययनका लागि भन्दै गठन गरिएको समितिप्रति आफूहरुको आशंका रहेको बताएका हुन् । समितिमा बिज्ञहरुको सहभागिता नभएको र मकवानपुरबाट निर्वाचित सांसदहरु समेत नभएका कारण उक्त समितिले बुझाउने प्रतिवेदनमाथि आशंका गर्ने ठाउँ रहेको चौलागाईद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

बिज्ञ बिनाको सो समितिबाट सत्यतथ्य कुरा बाहिर आउन नसक्ने भन्दै मकवानपुर जिल्लाबाट निर्वाचित कम्तीमा एकजना सांसद सहित र बिज्ञ सहितको एक उच्च स्तरीय समिति बनाउन पनि बिज्ञप्ती मार्फत माग गरिएको छ । प्रदेश नम्बर ३को प्रदेश सभाको शुक्रबारको बैठकले प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउने बिषयमा सम्भाब्यता अध्ययनका लागि भन्दै १३ सदस्यीय समिति बनाएको थियो ।