विश्वकपमा ह्याट्रिकको इतिहास

गुगलपाटी संवाददाता एजेन्सी
८ असार २०७६ ०६:२४

गएराति भारत र अफगानिस्तानको बिचको खेल अपेक्षा विपरित रोमाञ्चक बनेको थियो । प्रतियोगितामा एक खेलमा पनि नहारेको भारत र पाँचै खेलमा पराजित भएको अफगानिस्तान बिचको खेल एकपक्षिय हुने विश्लेषण गरिएको थियो ।

यसको विपरित अफगानिस्तानले भारतलाई हराउने अवस्थामा पुग्न सफल भएकोे थियो । यस प्रतियोगितामा दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तान जस्तो बलियो टोलीलाई हराइसकेको भारतलाई अफगानिस्तानसँग सम्भावित पराजयबाट पेशर मोहम्मद शामीले जोगाए ।

टोलीका मुख्य पेशर भुवनेश्वर कुमार घाइते भइ उनको स्थानमा खेल्न पाएका शामीले उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।

दोश्रो इनिङको ५० औं ओभरमा उनले ह्याट्रिक लिँदै विजयको लागि तयार भएको अफगानिस्तानलाई पराजित गराए । विश्वकप क्रिकेटको ४४ वर्षे इतिहासमा ह्याट्रिक लिइएको यो दशौं अवसर हो ।

यसअघि विश्वकपमा पहिलो पटक भारतकै खेलाडी चेतन शर्माले ह्याट्रिक लिएका थिए । सन् १९८७ मा न्यूजिल्याण्ड विरुद्ध उक्त कीर्तिमान कायम गरेका थिए ।
त्यस्तै सन् १९९९ मा पाकिस्तानका सक्लीन मुष्ताकले जिम्बाब्बे विरुद्ध ह्याट्रिक लिएका थिए ।

सन् २००३ मा श्रीलंकाका चामिन्डा भासले बंगलादेश विरुद्ध ह्याट्रिक लिँदै उक्त सूचीमा आफ्नो नाम लेखाए भने सोही विश्वकपमा अष्ट्रेलियाका बे्रट लीले केन्या विरुद्ध उक्त कीर्तिमान पाएका थिए ।

सन् २००७ मा श्रीलंकाकै खेलाडी लासिथ मालिंगाले दक्षिण अफ्रिका विरुद्ध ह्याट्रिक पुरा गरेका थिए । उनले उक्त खेलमा ह्याट्रिक मात्रै नभइ ४ बलमा ४ विकेट नै लिएका थिए ।

यही क्रममा सन् २०११ को विश्वकपमा तिनै मालिंगाले केन्या विरुद्ध र सोही विश्वकपमा वेष्ट इन्डीजका केमार रोचले नेदरल्याण्ड्स विरुद्ध ह्याट्रिक लिएका थिए ।

त्यस्तै सन् २०१५ को विश्वकपमा इंग्ल्याण्डका स्टीभन फिनले अष्ट्रेलिया विरुद्ध र दक्षिण अफ्रिकाका जेपी डुमिनीले श्रीलंका विरुद्ध ह्याट्रिक लिएका थिए ।