केन्यामा बेचिँदै नेपाली चेली, विदेशी पत्रिकाले छाप्यो समाचार

गुगलपाटी संवाददाता काठमाडौं
८ असार २०७६ ०८:०४

नेपाली चेलीहरूलाई अन्तर्राष्ट्रिय मानव तस्करहरूले अफ्रिकी मुलुक केन्यामा बेच्ने गरेको खुलासा डेली नेसन नामक पत्रिकाले गरेको छ ।

शनिवार उक्त पत्रिकाको अन्लाइन संस्करणमा छापिएको खबरमा चारजना नेपाली महिलाले प्रहरीसमक्ष आफ्नो दुःख पोखेको लेखिएको छ । मोहम्मद अहमद र ब्रायन ओचारोको संयुक्त बाइलाइनमा खबर छापिएको हो ।

नेपाली चेलीहरूको बयानले केन्या पहिले यौनकर्मी र बालबालिकाको तस्करीको रूट हुने गरेको भए पनि अहिले चेली र बालबालिका त्यहीँ पुर्‍याइने गरेको देखाएको छ ।

द न्यु रंगीला क्लबमा यी चेलीहरूले प्रस्तुति दिने गरेका थिए । प्रहरीको अनुसन्धान पनि त्यतै केन्द्रित छ । उक्त क्लब मोम्बासाका धनाढ्य व्यापारी असिफ अमिराली अलीभाइ जेठाले सञ्चालन गर्ने गरेका छन् । उनैले नेपाली चेलीहरू केन्या भित्र्याएको देखिन्छ ।

जेठाले सन् २०१४ देखि क्लब सञ्चालन गरिरहेका छन् । उनले अन्य व्यापारी तथा सुरक्षाकर्मीहरूसँग सम्बन्ध बनाएको देखिन्छ । त्यसैले उनले अनेकौं अपराध गरेको भए पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

उनीविरुद्ध तस्करी, मानवतस्करी प्रवर्द्धन र महिलाहरूको राहदानी कब्जा गरेको आरोप लगाइएको छ । द न्यु रंगीला बार तस्करीका लागि प्रयोग गरिएको आरोप पनि उनीमाथि लगाइएको छ ।

उक्त क्लबमा चर्को पैसा तिरेर धनी मानिसहरू जाने गरेका छन् । त्यहाँ युवतीहरूले मुजरा नामक अश्लील नृत्य गर्ने गरेका छन् । कुनै ग्राहकलाई कुनै युवती मन परेमा उनीसँग प्राइभेट सेसन बिताउन पैसा तिर्ने गरेको त्यहाँ पुगेका मानिस बताउँछन् ।

महिलाहरूलाई विभिन्न उपनाम दिने गरिएको छ र उनीहरूले प्रत्येक राति निश्चित रकम कमाउनुपर्ने हुन्छ । उनीहरूलाई महिनाको ५० देखि ८० हजार केन्याली पैसा दिने भनिएपनि १० देखि १५ हजार मात्र दिने गरिएको छ ।

महिलाहरूले दिएको बयान अनुसार, सबै महिला न्यालीमा रहेको एउटा अपार्टमेन्टमा सँगै बस्ने गरेका छन् । उनीहरूलाई रातमा बाहेक बाहिर निस्कन दिने गरिएको छैन । राति उनीहरू क्लब जाने गरेका छन् । महिनाको एकचोटि

उनीहरूलाई बाहिर जान दिइन्छ तर त्यतिखेर पनि क्लबको एक कर्मचारी उनीहरूको पछिपछि लाग्छ ।

सञ्जिता आले, रञ्जिता बिक, सञ्जु गुरुङ र असली बाईले आफ्नो दुःखपीडा प्रहरीसमक्ष व्यक्त गरेका हुन् ।