मुख्यमन्त्री पौडेलद्वारा शैक्षिक भवनको शिलान्यास
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौंडाको शैक्षिक भवनको आज एक कार्यक्रमको बिच शिलान्यास गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौंडा- १० स्थित फरेष्ट्री कलेजको हातामा करीब दुई कट्ठा जमिनमा सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौंडामा स्नातक तथा स्नातकोत्तर गरी ४२३ र विद्यावारिधिका दुई जना विद्यार्थी अध्ययनरत छन् ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले गुणस्तरीय एवं प्राविधिक शिक्षाको विकासमा प्रदेश सरकारले जोड दिएको उल्लेख गर्दै शिक्षाको विकासमा कुनै पनि किसिमको भेदभाव र पक्ष विपक्ष गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश ३ का सांसदहरु प्रेमबहादुर पुलामी लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरी प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।