मर्निङवाक गठरिरहेकी महिलाको सुनको सिक्री चोरी गर्ने दुई युवा पक्राउ

गुगलपाटी संवाददाता सुनसरी
१० असार २०७६ ०६:४३

मर्निङवाक गरिरहेका महिलासँग भएको सुनको सिक्री लुटपाट गर्ने धरानका दुई युवा पक्राउमा परेका छन् । उनीहरुलाई मंगलबार बिहान स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ पर्नेहरुमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दैआएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।

उनीहरुले धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमले घाँटीमा लगाएको अढाइतोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । बिहान साढेपाँच बजेको समयमा मर्निङवाक गर्दै मेरिगोल्ड स्कुल नजिकै पुग्दा दर्लामी र राईले पछाडिबाट धक्का दिएर सुनको सिक्री लुटेपछि गौतम चिच्याउँदै लुटेराको पछि दौडेकी थिइन् । उनको पछि अरु पनि मर्निङवाक गर्दै हिडिरहेकाहरुले करिब पाचसय मिटरसम्म खेदाएर राई र दर्लामीलाई समातेर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीहरुले बताए ।