आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

गुगलपाटी संवाददाता एजेन्सी
१० असार २०७६ ०७:३७

वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् ।

रसेललाई यसअघि पनि घुँडाको समस्या रहेको थियो । पाकिस्तान विरुद्धको खेलमा नै उनको चोट बल्झिएपनि अष्ट्रेलिया विरुद्धको खेलमा उनी टोलीमा फेरि समावेश भएका थिए ।

इंग्ल्याण्ड विरुद्ध जम्मा २ ओभर बलिङ गरेका उनले बंगलादेश विरुद्ध ६ ओभर बलिङ गरेका थिए । विस्फोटक ब्याटसम्यान भएपनि सोचे अनुरुप प्रदर्शन गर्न नसकेका उनी न्यूजिल्याण्ड विरुद्धको खेल भने खेल्न सकेनन् । उनको स्थानमा खेलाइएका कार्लोस ब्राथविटले अद्भुद प्रदर्शन गर्दै शतक प्रहार गरेका थिए । अन्तिम बलमा छक्का प्रहार गर्न नसक्दा वेष्ट इन्डीज पराजित भएको थियो ।

विश्वकप टोलीबाट बाहिरिएका उनको स्थानमा काइरोन पोलार्ड र ड्वायेन ब्राभोलाई टोलीमा ल्याउने विकल्प रहेपनी छनौटकर्ताले सुनिल एम्ब्रीसलाई छनौट गरेका छन् ।

एम्ब्रीसले आयरल्याण्ड र बंगलादेश विरुद्धको सिरिजमा टोलीको लागि राम्रो प्रदर्शन गरेका थिए । उनले उक्त सिरिजको एउटै खेलमा १ सय ४८ रन प्रहार गरेको कारणले नै उनी टोलीमा छनौट भएको विश्लेषण गरिएको छ । आईसीसीले एम्ब्रीसको नाम स्वीकृत पनि गरेको छ ।

विश्वकपको दाबेदारको रुपमा रहेको वेष्ट इन्डिज अहिले सेमिफाइनलमा स्थान बनाउन संघर्षरत रहेको छ । बंगलादेशसँग पनि पराजित भएको वेष्ट इन्डिजले ६ खेलमा एउटामा मात्र जित हात पार्न सकेको छ ।