प्रतिपक्षद्वारा प्रदेशसभा बैठक अवरुद्ध
गुगलपाटी संवाददाता हेटौंडाप्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै कांग्रेसले मंगलबारको बैठक चल्न नदिएको हो ।
बैठक प्रारम्भ हुनासाथ कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सभामुखसँग समय लिएर बोलेका थिए । उनले बजेट मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा मात्रै गएको र समग्रमा नगएको, रसुवा र सिन्धुपाल्चोकजस्ता विकट जिल्लालाई पर्याप्त बजेट नछुट्याइएको आरोप लगाए।
यस्तै नेता बानियाँले विविध शीषर्कमा करिब ८ अर्ब बजेट छुट्याइएकोमा दुरुपयोग हुने आशंका गरे। प्रदेश नीति तथा योजना आयोगमार्फत छनौट भएका योजनाहरुमा बजेट नपारिएको, प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नबनाउने नीति अवलम्बन गरे भनेपनि त्यसको बेवास्ता गर्दै बजेट छरेको आरोप लगाए। उनले धारणा राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए। कांग्रेस सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा नमानेपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यसूचि थियो।