फेरि बल्झियो प्रदेशको राजधानीको ऐजेण्डा ! काभ्रेका सांसदले भने ‘बार्गेनिङ चल्दैन ’
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेश सभाको वैठकमा राजधानीको विषयको बारेमा प्रश्न उठेको छ । विनियोजन विधेयक माथिको छलफलको क्रममा राजधानीको विषय उठेको हो । राजधानीको विषयलाई किन प्रवेश नगरेको भन्दै काभ्रेका सांसद चन्द्र लामाले प्रश्न गरेका हुन् । यस्तै काभ्रेकै कै सांसद लक्ष्मण लम्सलाले राजधानीको विषयलाई हल गर्न नसके बजेट कार्यान्वयनमा समस्या हुने बताए । बजेट राम्रो ल्याएको भएता पनि अस्थायी मानसिकताले बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेका हुन् । नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणलाई फाष्ट ट्रयकमा लैजानु पर्ने बताए । नेकपाका सांसद रत्न प्रसाद ढकालले राजधानीको विषय बार्गेनिङ गर्न हुन्न भन्दै स्थायी राजधानी चाँडै टुङ्ग्याउनु पर्ने बताए । उनले बजेटको विषय पछि राजधानीको विषय र नामाकरणको विषय बाहेक अन्य विषय प्रवेश गराउन नहुने बताए ।