नेकपाको गठन नै अस्थिर राजनीतिको कारक

गुगलपाटी संवाददाता
१२ असार २०७६ ०५:०७

 सुजन देवकोटा

‘मुठभेड’ र ‘भिडन्त’ यी दुई शब्द सुन्ने बित्तिक्कै मन फर्केर बिगतको माओवादी सशस्त्र जनआन्दोलनको समय (२०५२ –२०६२) मा पुग्छ । तत् समयमा दिनरातै मुठभेड र भिडन्तमा आतकंकारी र शाही नेपाली सेना अनि प्रहरी मारिएको समाचारले मिडिया ओगटेका हुन्थे । वि.सं. २०६३ मंसिर ५ गते तत्कालीन बिद्रोही माओवादी र सात राजनीतिक दलका बिचमा बिस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएपछि । देशमा घोषित युद्धको अन्त्य त भयो नै तै पनि मान्छे मार्ने र मर्ने क्रम अहिलेसम्म निरन्तर नै छ । यद्यपी त्यसको प्रकृया केही फरक होला । आखिर जुन प्रकृया अपनाइए पनि मृत्यु मृत्यु नै हो । हिँजोका माओवादी राजा र तत्कालीन संसदवादी दलका बिरुद्ध लडेका थिए । जसलाई जन्मजातै उनीहरूले शत्रुताको रूपमा हेरेका थिए । हिँजो जो संसदवादी दलका बिरुद्ध उत्रिएका थिए आज तिनीहरू नै संसदबादी दल भएका छन् । आज जसले विद्रोह गर्न खोज्दैछ उसले अहिले देखेको शत्रु भनेका हिँजोका आफ्नै सहयोद्धा÷सहकर्मी र आफ्नै सर्वोच्च कमाण्डर हुन् । राजनीतिमा कोहीको कोहीसँग पनि दीर्घजीवि मित्रता र दीर्घजीवि शत्रुता हुँदैन भन्ने कुरा यहाँ पनि लागू भएको छ ।
‘विप्लव’ जो अहिले पुःन भुमिगत राजनीति गर्दै आइरहेका छन् उनी स्वयं पनि वि. सं. २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछिको पहिलो संविधानसभामा संसदवादी दलमा नै थिए । पार्टीभित्र प्रायः फरक बिचार धारामा उभिने उनी प्रचण्डको नेतृत्वमा रहेको पार्टीबाट देशमा आफूले चाहेको परिवर्तन सम्भव नरहेको भन्दै मोहन बैद्याको माओवादी हुँदै अहिलेको अवस्थासम्म आईपुगेका हुन् । खरो बक्ता र स्पष्ट बिचारका रूपमा आफूलाई चिनाउन सफल विप्लवले लिएको अबको बाटो भने वर्तमान समयमा सही छ भन्ने लाग्दैन । किनकी बिगतको इतिहासले देखाइसकेको छ कि युद्ध नै परिवर्तनको सम्पूर्ण हिस्सेदार होइन ।
वि.सं. २०५२ सालको युद्ध सुरु गर्दाको माओवादी अहिले विभिन्न हैसियतमा गरेर ६ टुुक्रामा बिभाजन भएको छ । त्यही ६ टुक्रामध्येको एउटा हो नेत्र विक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी जसले विगतमा जुन उद्देश्य राखेर भूमिगत युद्ध रचियो आजसम्म पनि त्यो लक्ष्य पूरा नभएको भन्दै ५२ सालकै युद्धलाई निरन्तरता दिने खालको रणनीति लिइरहेकोे छ । यता ५२ सालको युद्धको नेतृत्वकर्ता भने उनै विप्लभलाई सिद्धयाउने जाल बुन्दै छन् । एउटै बाबुका छोराले अंशबन्डाको नाममा झगडा गरेजस्तो अवस्थामा देशको राजनीति यतिबेला चुर्लुब्मै डुबेको छ । विप्लव, बैद्य, प्रचण्ड र बाबुराम राजनीतिक हिसाबले हिँजोको एउटै घरका दाजुभाइ हुन् आज उनीहरू सबै अलग मात्रै भएका छैनन् कि कतै न कतै एकअर्का प्रतिको दुस्मनी पनि साँधिएको छ ।अरुले जसोतसो नेपालको संविधान २०७२ लाई स्वीकार गरेको अवस्था भए पनि विप्लवले त्यसालाई स्वीकार गरेको अवस्था छैन । विप्लवको अहिलेको मुख्य माग के हो भन्नेमा पनि अस्पष्टता देखिन्छ । सरकारले प्रतिबन्ध लगाएसँगै उसले आफ्ना धेरै नेता कार्यकता गुमाएको छ । भने सर्वसाधाण जनता, लेखक पत्रकार र साहित्यकारलाई समेत विप्लव माओवादीको बिल्ला भिराएर सरकारले दमन गर्ने क्रम बढेको छ । बाहिर हेर्दा नेकपा माओवादी देशका लागि ठूलो समस्या नभए जस्तो देखिए पनि यो भित्रभित्रै भुसको आगो जस्तै सल्कँदै गएको छ भन्ने दिनानुदिन बढ्दै गइरहेका हिंसात्मक घटनाले देखाइरहेको छ । तत्कालीन सरकारले तत्कालीन माओवादीलाई आतंककारी घोषणा गरेर दमन गरेको थियो भने अहिलेको सरकारले प्रतिबन्ध लगाएर नियन्त्रणमा लिँदै सिध्याउने नीति लिएको छ । यो र त्यो रणनीतिलाई समान रूपमा नै लिन सकिन्छ । फरक के भयो भने तत्कालीन समयमा आतंककारीको सूचीमा पर्र्नेहरूले नै अहिले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएको छ । जसले प्रचण्डलाई जोगाएर दुईदुईपटक सत्ताको सिंहासनसम्म पु¥याउन सहयोग ग¥यो ‘खोलो तरेर लौरो बिर्सेको’ भने झैँ आज ऊ नै उनको शत्रुत्वमा परेको छ ।
यसलाई अब यसरी बुझ्दा पनि हुने भयो कि विप्लवले अहिले समातेको बाटो वि.सं. २०५२ सालदेखिकै निरन्तरता हो र अहिले त्यसको नेतृत्व मात्रै परिवर्तन भएको हो । युद्धको विकल्प वार्ता नै हो तर पछिल्लो परिस्थितिमा तत्कालै वार्ताको वातावरण बनेको देखिँदैन । विप्लवले आफ्नो भूमिकालाई सक्रियताका साथ अगाडि बढाउन पनि नसकेको अवस्था र सरकारले उसलाई वार्तामा ल्याउन नसकेको अवस्थामा विप्लवकै पार्टीसँग जोडिएर धेरैले शास्ती पाएका छन् । यस्तो अवस्थामा पनि हामी गणतन्त्रमा छौँ भनेर भन्नु परेको छ ।
अनौठो कुरा त के भने विगतमा जो आतंककारी घोषित भएका थिए आज उनै व्यक्ति सत्तामा छन् र सुरक्षा निकायको सर्वोच्च पदमा छन् । हिजो अरुले आफूलाई जुन व्यवहार गरेका थिए आज उनीहरूले त्यही प्रवृत्ती अरूमाथि दो¥याइरहेका छन् । इतिहासलाई एकाध व्यक्तिले बिर्सिएर त्यो पूर्ण रूपमा मेटिने होइन त्यसको लेखाजोखा त देख्ने भोग्ने आम नागरिकले मूल्याङ्कन गरिरहेकै हुन्छन् । एमालेमा पूर्व नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको एउटा हिस्सा घुलित भएर वर्तमान सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । जसलाई विगतमा आतंककारीको बिल्ला भिराइएको थियो भने उसका नेतृत्वको टाउकाको मूल्य निर्धारण गरिएको थियो । आज जसले जसलाई देशद्रोही देखेको छ हिँजो उ आफैँ अरुको नजरमा आतंककारी र देशद्रोही थियो । इतिहासलाई बिर्सिएर आज अरुलाई सुशानका नाममा समातेर पाशविक तरिकाले हत्या गर्ने क्रम बढिरहेको छ यसले समस्याको निकासतिर धकेलिरहेको छैन ।
देशमा पछिल्लो समय जुन किसिमको असहज र अस्थिर परिस्थिति उत्पन्न भएको छ त्यसको कारक नेकपाको गठन नै हो । तत्कालीन एमाले र माओवादी केन्द्रको मिलनपछि बनेको यो पार्टीले आफ्नै नेतृत्वमा लगभग दुईतिहाइको सरकार बनायो । पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन एकीकृत माओवादी ठूलो दलको रूपमा स्थापित भएर आफ्नो नेतृत्वमा सरकार बनाउँदा उसले जुन अहंता देखाएर छोटो समयमै आफूलाई जुन असफलताको बाटोमा पु¥यायो आज नेकपाले ठ्याक्कै त्यही बाटो समातेको छ । हुन त त्यो बेलाको सरकारको नेतृत्व गर्ने प्रचण्ड नै अहिले नेकपाको एउटा अध्यक्ष छन् । अनेकौँ घुम्ती पार गर्दै आएको भए पनि व्यक्ति उही हो उसको स्कुलिङ् उही हो समयले अगाडि धकेल्दै ल्याए पनि उसको आचरण परिवर्तन हुन नसकेपछि त्यसले व्यवस्था परिवर्तन गर्न सक्ने कुरै भएन । जुन तरिकाले २०६५ सालमा प्रचण्ड नेतृत्वको नेपालको दोस्रो कम्युनिष्ट नेतृत्वको सरकार ढल्न पुग्यो त्यसले अहंता नै आफ्नो गलाको पासो हो भन्ने कुरा देखायो । पशुले पनि एकपल्ट गल्ती ग¥यो भने उसलाई सजायँ दिँदा पटक–पटकको गल्तीबाट सचेतता अपनाउँछ । तर देश हाँक्ने व्यक्तिहरूले आफ्नो गल्ती सच्याउनुको सट्टा आफूलाई बलियो महसुस गर्ने बित्तिक्कै जनताको वास्तै नगरि आफ्नो निरकंकुश शासन चलाउन थाल्छन् । वर्तमान सरकारले पनि निरकुंशताको बाटो अबलम्बन गर्दै गइरहेको छ । आफूलाई बलियो महसुस गरेको सरकारले जब प्रतिपक्षी दलको कुनै भाउ राख्दैन र सरकारले भाउ नदिएको जस्तै आफूले कुनै गहन भूमिका निर्वाह गर्न नसक्ने प्रतिपक्षी हुन्छ अनि सरकारको निरंकुशता क्रमशः अगाडि बढ्दै जान्छ । जुन अहिले भइरहेको छ ।
अहिलेको मुख्य समस्या भनेको नै कमजोर प्रतिपक्षी हो । प्रतिपक्षी दलले केही खबरदारी गर्न खोजे पनि ऊ आफ्नै दलभित्रको कलहले गर्दा सरकारको बिरुद्धमा दह्रोसँग उभिन सकिरहेको छैन जसले गर्दा सत्तारुढ दलले पेलिरहेको अवस्था छ । यतिबेला यो सरकारले गर्न चाहेको कुरा सहजै गर्न सक्छ तर उसले विवादास्पद कार्यलाई मात्रै अगाडि बढाउँदै लगेको छ । जसले गर्दा प्रतिपक्षी दलले मात्रै होइन आफ्नै दलका नेता तथा सांसदले समेत बिरोध गर्नुपर्ने अवस्था आएको हो । यतिबेलाको संसदीय गणितमा नेकपा बाहेका अन्य सबै दल मिलेर पनि यो सरकारका बिरुद्धमा अविश्वासको प्रस्ताव पारित गराउन सक्ने अंकगणित पुग्दैन । त्यसैले गर्दा सरकार एकपक्षीय निर्णया गर्दै हिँडेको छ । यद्यापी उसका हरेक निर्णय विवादरहीत हुन सकेका छैनन् । यदि माओवादी र एमाले मिलेर नेकपा बन्दैनथ्यो भने एमाले एमाले नै हुन्थ्यो र माओवादी माओवादी नै हुन्थ्यो वा भनौँ सरकारलाई खबरदारी गर्ने माध्यम बलिायो हुन्थ्यो र बाहिरका दलबाट पनि सरकार गठनका लागि बलियो मत पुग्न सक्थ्यो सरकार यसरी एकपक्षीय ढङ्गले अगाडि बढ्न सक्ने थिएन यसर्थ अहिलेको अराजक र अस्थिर अबस्थाको उत्पति हुनुको मूल कारण नेकपाको गठन नै हो भनेर भन्न सकिन्छ ।