अस्ट्रेलिया दुई खेल अगावै सेमिफाइनलमा
गुगलपाटी संवाददाता लर्डस्साबिक विजेता अस्ट्रेलियाले दुई खेल बाँकी छदै एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अस्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै दुई खेल बाँकी छदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
जारी विश्वकपमा भारतसँग मात्रै हार बेहोरेको अस्ट्रेलियाको ७ खेलबाट १२ अंक रहेको छ । मंगलबार लर्डस्मा ६४ रनको जित दर्ता गर्दै अस्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । हारसँगै घरेलु टोली इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ ।
लर्डस्् क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको २८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ ओभर ४ बलमा अल आउट हुँदै २२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ओपनर जेम्स भिन्सलाई शून्यमा बोल्ड भए । जो रुटलाई ८ रनमा तथा कप्तान इओन मोर्गनलाई ४ रनमा आउट भएपछि इंग्ल्यान्ड २६–३ को कमजोर अवस्थामा पुगेको थियो । जोनी बेयरस्टोले २७ रन जोडे । पाँचौं विकेटका लागि जस बटलर र बेन स्टोकले ७१ साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ उकासेका थिए ।
उस्मान खवाजाबाट २५ रनमा आउट भएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । आदिल रासिदले २५ र क्रिस बोक्स २६ रन जोडे पनि टोलीको हार टार्न सकेनन् । अस्ट्रेलियाका जेसन बेहरनडर्फले ५ तथा मिचेल स्टार्कले ४ विकेट हात पारे ।
त्यसअघि लर्डस्मा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । अस्ट्रेलियाका ओपनर आरोन फिन्चले सय रनको योगदान दिए । फिन्चको वान डे करियरको १५औं तथा जारी विश्वकपमा दोस्रो शतक हो । फिन्चले यसअघि श्रीलंकाविरुद्धको खेलमा शतक प्रहार गरेका थिए । ओपनर डेविड वार्नर र आरोन फिन्चले पहिलो विकेटका लागि १२३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । वार्नरलाई ५३ रनमा क्याच आउट भए । उस्मान खवाजा २३ रनमा पेभेलियन फर्किए । ग्लेन म्याक्सवेललाई १२ रनमा आउट हुन पुगे । स्टिभ स्मिथ ३८ रनमा क्याच आउट भए । एलेक्स केरी ३८ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट लिए ।