असारे विकास :- मकवानपुरको खैराङमा एउटै सडकको लागि दोहोरो बजेट
गुगलपाटी संवाददाता काठमाडौंअसार सुरु भएपछि पुरानो सडक पुन: प्रदेश सरकारले खन्ने काम भएको छ। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठुलोटोड्के ज्याबराङ चरिमारा सडक गाउँपालिकाले यस अघि नै निर्माण गरिसकेको छ। तर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम गरेको हो।
सडक निर्माण उपभोक्ता समितिका अध्ययक्ष हस्त बहादुर तितुङले साँघुरो सडक फराकिलो बनाउने र भत्किएको ठाउँमा तारजाली भर्ने काम भएको बताए। ‘सडक एउटा गाडी पनि नछिर्ने साँघुरो थियो, अहिले करिब छ मिटर फराकिलो बनाएका छौं, भत्किएको ठाउँहरुमा मर्मत पनि गरेका छौं’, उनले भने। २४ लाख ५० हजार रुपैयाँमा जेठ ५ गतेबाट सडक खन्न सुरु गरेकोमा काम सकिएपछि असार १० गते मेसिन (डोजर) फिर्ता गरेको तितुङले बताए।
राक्सिराङकै मानेडाँडा सिलाधुनी थाहापहरा ठुलो टोड्के सडक जेठ अन्तिम साताबाट निर्माण सुरु भएको थियो। उक्त सडक खन्ने क्रममा एक सता अघि पहिरोले पुरिएर डोजर चालक र सहचालकको ज्यान गएपछि त्यहाँ नयाँ जोडर लैजान नसकेपछि काम अघि बढ्न सकेको छैन।
उक्त सडकको करिब १५ मिरट मुनीबाट गाउँपालिकाले सडकको ट्रयाक एक वर्ष अघि नै खनिसकेको ८ नम्बर वडा अध्यक्ष रामकृष्ण चेपाङले बताए। ३९ लाख २० हजार रुपैयाँमा मन्त्रालयले उपभोक्ता समिति मार्फत कृषि सडक निर्माण थालेको हो।
राक्सिराङको सरिखेतस्थित खरङ्गा सानोभावर भाड्डी सडक निर्माणको काम भइरहेको छ। राक्सिराङ गाउँपालिकाले गत चैत्र महिनामै उक्त सडक निर्माणमा दश लाख रुपैयाँ खर्चेको थियो। कृषि सडक निर्माणको लागि उक्त सडकमा मन्त्रायले ३९ लाख २० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ।
गाउँपालिकाले सडक फराकिलो बनाउनु भन्दा त्यसको स्तरिकरणमा खर्च गर्न भनेपनि मन्त्रालयले सिधै उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।
मन्त्रालयका प्रवक्ता निर्मल गदालले भने योजना कुनै पनि नदोहरिएको बताएका छन्। ‘गाउँपालिकाले प्रदेशको बजेट हेर्न भ्याउँदैनौं हाम्रो योजना बाँकी छ भनेकाले उपभोक्ता समितिमार्फत काम भएको हो तर कतै दोहरिएको छैन’, उनले भने। मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले हालसम्म मकवानपुरमा निर्माण भएका कृषि सडकहरुमा भुक्तानी नगएको बताए। ‘भुक्तानी गएको छैन, दोहोरो बजेट हाल्ने काम भएको पाइए, हामी भुक्तानी दिदैनौं, उनले भने।
भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत राक्सिराङमा मात्र आठ वटा कृषि सडक निर्माणको काम गरिरहेको छ। जेठ र असारमा निर्माण सुरु भएको यहाँको सडकको लागि मात्र मन्त्रालयले करिब दुई करोड रुपैयाँ पठाएको छ। स्रोत : अन्नपुर्णपोष्ट