सेमिफाइनल होड रोमाञ्चक बनाउने दौडमा श्रीलंका

गुगलपाटी संवाददाता काठमाडौं
१३ असार २०७६ ०५:४३

आइसिसी क्रिकेट विश्वकप २०१९ मा श्रीलंकाले जित हात पारे सेमिफाइनलमा पुग्ने समिकरण रोमाञ्चक बन्नेछ।

सेमिफाइनल पुग्ने अभियनामा रहेको श्रीलंकाले शुक्रबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट ६ अंक जोडेको श्रीलंका सातौं स्थानमा छ। प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकालाई हराए श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पछि पारेर पाँचौ स्थान ओगट्नेछ।

अघिल्लो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि चौथो स्थानको इंग्ल्यान्ड दबाबमा परेको थियो। अब श्रीलंकाले जित हात पारे चार टिमका सेमिफाइनलको दौड खुला हुनेछ।

१२ अंक जोडेको अस्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ। ११.११ अंक जोडेका भारत र न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छन् । अब इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजबीच सेमिफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा चलिरहेको छ ।

यता प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकाका लागि श्रीलंकाविरुद्धको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। खराब प्रदर्शन गरेको दक्षिण अफ्रिका सन् १९९२ मा विश्वकप डेब्यू गरेपछि दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो।

अब जारी विश्वकपमा दक्षिण अफ्रिकाको एउटै लक्ष्य जित निकाल्नु हुनेछ। शुक्रबार श्रीलंकालाई हराए दक्षिण अफ्रिकालाई राहत मिल्नेछ। तर श्रीलंकाको सेमिफाइनल यात्रा भने कठीन बन्नेछ।