फेसबुक चलाउनुस्, डिप्रेसन भगाउनुस्
गुगलपाटी संवाददाता न्युयोर्कपछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताइँदै आएको छ । यस्तो विषयमा विभिन्न मुलुकमा अध्ययन–अनुसन्धान पनि गरिँदै आएको छ । कुनै पनि कुराका दुईवटा पाटा त हुन्छन् नै । एउटै चिजले फाइदा पनि गर्न सक्छ बेफाइदा पनि । व्यक्तिपिच्छेको असरका साथै प्रयोग सन्तुलनले यसको निर्धाण गर्छ ।
हालै गरिएको एक अनुसन्धानबाट सामाजिक सञ्जालको एउटा एप्स फेसबुकको प्रयोगले वयस्कहरुको मानसिक स्वास्थ्य राम्रो हुने पत्ता लागेको छ । तपाईं फेसबुक चलाउनु हुन्छ भने त्यसले मानसिक समस्याको आशङ्कालाई १.६३ गुना कम गरिदिन्छ । अध्ययनका क्रममा फेसबुकको फाइदा–बेफाइदाबारे मत सङ्कलन गरिएको थियो ।
उक्त अध्ययनले पत्ता लगाएको छ-
– सोसल मिडिया प्रयोग गर्ने ६३ प्रतिशत मानिसमा गम्भीर मनोवैज्ञानिक रोग अनुभूत गर्ने खतरा पहिलो वर्षभन्दा अर्को वर्ष कम हुँदै जान्छ ।
– यसमा डिप्रेसन र गम्भीर एङ्जाइटी पनि सामेल छ ।
– कम्प्युटर मिडिएटेड कम्युनिकेसन नामक जर्नलमा यो अध्ययनको नतिजा प्रकाशित गरिएको छ ।
– यो अध्ययनले सोसल मिडिया, मोबाइल टेक्नोलोजी तथा इन्टरनेट चलाउनाले मानसिक समस्या बढाउँछ भन्ने कुरालाई चुनौती दिएको छ ।
प्रा. किथका अनुसार यस्तोखाले अनुसन्धानमा वयस्कलाई दृष्टिगत गर्दै यसअघि काम भएको थिएन । सोसल मिडियाबारे गरिएका अधिकांश अनुसन्धान युवा र कलेजस्तरका विद्यार्थीमाथि केन्द्रित हुँदै आएका थिए । यस्तो अवस्थामा के पत्ता लागेको छ भने, सोसल मिडियाको असर मानिसको जीवनको भिन्नभिन्न उमेरमा भिन्नभिन्न तरिकाले पर्ने गर्छ र यसले सोसल मिडिाय प्रयोगमा उतिविधि सम्बन्ध राख्दैन । एजेन्सी