निजगढमा धावनमार्ग र पूर्वाधार निर्माण क्षेत्रमा मात्र रूख काट्न संसदीय समितिको नर्देशन

गुगलपाटी संवाददाता काठमाडौं
१३ असार २०७६ १०:४८

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने क्षेत्रमा मात्र रुख कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने चर्चा चलिरहेका बेला समितिले धावन मार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने स्थानमा मात्र रुख कटान गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो ।

डिटेल डिजाइन अनुसार विमानस्थल धावन मार्ग र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुखहरू मात्र कटान गर्ने अनुमति प्रदान गर्न वन मन्त्रालयलाई निर्देशन दिने समितिको शुक्रवार बसेको बैठकको निर्णयमा भनिएको छ ।

समितिले विमानस्थल कुन मोडलमा निर्माण गर्ने भन्ने निर्णय यथाशीघ्र गर्न सरकारलाई निर्देशन दिने निर्णय समेत भएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले जानकारी दिइन् ।

समितिले टांगिया बस्ती स्थानान्तरणको काम तत्काल शुरू गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्मा समेत सहभागी थिए ।