मकवानपुर बर्डफ्लुमुक्त
गुगलपाटी संवाददाता हेटौँडाप्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुर बर्डफ्लुमुक्त जिल्ला भएको बताउनुभएको छ । आज पत्रकारलाई बर्डफ्लुको विषयमा प्रतिक्रिया दिने क्रममा कुराकानी गर्दै जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजकसमेत रहनुभएको प्रजिअ तामाङले अब मकवानपुरमा बर्डफ्लु नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “बर्डफ्लुको खतरा अव केही छैन, कुखुराको मासु र अण्डा ढुक्क भएर खाँदा हुन्छ ।” त्यसैगरी पशु चिकित्सक डा ध्रुव डिसीले पनि कुखुराको मासु र अण्डा ढुक्क भएर खान सकिने अवस्था रहेको बताउनुभयो । यसअघि मकवानपुरका किसानका खोरका कुखुरामा बर्डफ्लु देखिएपछि आम उपभोक्तालाई कुखुराको मासु खान हुने वा नहुने भन्ने अन्योलता रहेको थियो ।
बर्डफ्लुमुक्त भएकाले जिल्लाका किसानलाई खोर सफा गरी नयाँ कुखुरा हाल्नसमेत अनुमति दिइएको छ । त्यसैगरी कुखुरा व्यवसायीलाई रु चार करोड ४२ लाख क्षतिपूर्ति पाएका छन् । बर्डफ्लुका कारण कुखुरा नष्ट गरिएका मकवानपुरका ५४ जना किसानले आज क्षतिपूर्तिबापतको रकम पाएका छन् । हेटाँंैडा उपमहानगरपालिका– ७, ८, १७ र १६ लगायतका ५४ जना किसानले जम्मा रु चार करोड ४२ लाख प्राप्त गरेका हुन् ।
जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालयले आज क्षतिपूर्ति रकम वितरण कार्यक्रमको आयोजना गरी उनीहरुलाई उक्त रकम वितरण गरेको हो । मकवानपुरका प्रजिअ तामाङ, कुखुरा व्यवसायी सङ्घका अध्यक्ष राजु अधिकारी, उपभोक्ता हकहित संरक्षण मञ्चका संयोजक वासु खतिवडा, पशुसेवा कार्यालयका पशु चिकित्सक लगायतको सहभागितामा सो रकम वितरण गरिएको हो ।रासस