वेस्टइन्डिजमाथि श्रीलंकाको सान्त्वना जित 

गुगलपाटी संवाददाता चेस्टर–ली–स्ट्रिट
१७ असार २०७६ ०४:००

श्रीलंकाले सोमबार विश्वकपको रोमाञ्चक खेलमा वेस्ट इन्डिजमाथि २३ रनको जित हात पारेको छ। यहाँ भएको खेलअगाडि नै दुवै टोली इंग्ल्यान्ड र वेल्समा जारी प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिइसकेका थिए । दुवैका लागि यो खेल प्रतिष्ठामा मात्र केन्द्रित थियो ।

निकोलस पूरनले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए पनि वेस्ट इन्डिजलाई विजय दिलाउन सकेनन् । ३ सय ३९ रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिजले ९ विकेट गुमाई ३ सय १५ रनमात्र बनाउन सक्यो । पूरन १ सय १८ रनमा आउट भए । वेस्ट इन्डिजलाई विजयतर्फ डोर्‍याइरहेको समयमा उनी ४८ औं ओभरमा आउट भए ।

सन् २०१७ को डिसेम्बरयता पहिलो पटक बलिङ गरिरहेका एन्जेलो म्याथ्युजले आफ्नो पहिलो बलमै पूरनलाई विकेटपछाडि क्याच गराए । १ सय ३ बल खेलेका पूरनले ११ चौका र ४ छक्का प्रहार गरे । उनले फाबियन एलनसँग सातौं विकेटमा १ सय २६ रन जोडेर वेस्ट इन्डिजलाई आस देखाएका थिए ।

एलन ५१ रन बनाई रनआउट भए । ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । ८ खेल खेलिसक्दा वेस्ट इन्डिजले १ मा मात्र जित हात पार्न सकेको छ । श्रीलंकाको ८ खेलमा ८ अंक भए पनि टोली सेमिफाइनल नपुग्ने यसअघि नै निश्चित भइसकेको थियो ।

यसअघि अभिस्का फर्नान्डोले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउँदा श्रीलंकाले ३३८–६ को बलियो स्कोर बनाएको थियो । श्रीलंकाली ब्याट्सम्यानहरू वेस्ट इन्डिजका बलरमाथि हाबी भएका थिए । कप्तान दिमुथ करुणारत्नेले कुशल परेरासँग पहिलो विकेटमा ९३ रनको साझेदारी गरी श्रीलंकालाई राम्रो सुरुआत दिलाए । करुणारत्नेले ३२ रन बनाए । परेरा ६४ रनमा रनआउट हुँदा श्रीलंका १९ औं ओभरमा १०४–२ को स्थितिमा थियो । पेरेराले ५१ बल खेली ८ चौका प्रहार गरे ।

२१ वर्षे फर्नान्डोले त्यसपछि कुशल मेन्डिस, म्याथ्युज र लाहिरू थिरिमानेसँग महत्त्वपूर्ण साझेदारी गरे । उनले १ सय बल खेली शतक पूरा गरेका थिए । उनलाई १ सय ४ रनमा सेल्डोन कोट्रेलले एलनबाट क्याच गराए । १ सय ३ बलको इनिङ्समा उनले ९ चौका र २ छक्का प्रहार गरे । ‘मैले मिहिनेत गरेर खेलें, विश्वकपमै आएर आफ्नो पहिलो शतक बनाउन पाउँदा म निकै खुसी छु,’ उनले भने, ‘मैले युवावस्थामै यो सफलता पाएको छु । यसक्रममा मैले टिमका साथीबाट राम्रो सहयोग पाएँ ।’

मेन्डिस ४१ बलमा ३९ र म्याथ्युज २० बलमा २६ रन बनाई आउट भए । थिरिमाने ३३ बलमा ४५ रन बनाई अविजित रहे । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले १० ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । १९९६ को विजेता श्रीलंकाले आयोजक इंग्ल्यान्डमाथि स्तब्धपूर्ण जित हात पारेको थियो । तर दक्षिण अफ्रिकाको हातबाट पराजय भोगेपछि श्रीलंका शीर्ष चार दौडबाट बाहिरिएको हो ।एएफपी