३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा

गुगलपाटी संवाददाता काठमाडौँ
१७ असार २०७६ ०९:३७

३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् । राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार अमेरिका प्रस्थान गरे। अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्। मुख्यमन्त्री राई त्यहाँको बाल्टिामोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा सहभागी हुदैछन्।

असार २० देखि २२ गते हुने उक्त सम्मेलनमा मुख्यमन्त्री राईलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको हो। उनी अमेरिकामा रहँदा गैरआवसीय नेपालीहरुको कार्यक्रममा समेत सहभागी हुनेछन्।

प्रदेशमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको सम्बन्धमा पनि मुख्यमन्त्री राईले नेपाली समुदायसँग छलफल गर्नेछन्। प्रदेश नम्बर १ ले आफ्नो निति तथा कार्यक्रममा लगानी सम्मेलनको आयोजना गर्ने उल्लेख गरेको छ।

यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उनी चीनको छेन्दु प्रान्त गएका हुन्। प्रमुख सचेतक, प्रदेश सांसद लगायत उनको भ्रमणमा दलमा १९ सदस्यीय छ। मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्नेबारे साझेदारी हुनेछ।

यस्तै, घोराही उपमहानगरपालिका र सिचुवान प्रान्तको याआन नगर अनि ठाकुरबाबा नगरपालिका र लियुयान्सु नगरबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुने बताइएको छ।दुवै पालिकाकमा मेयरहरु पनि भ्रमण दलमा सहभागी छन्।मुख्यमन्त्री पोखरेलको टोलीअसार २५ गते स्वदेश फर्कने कार्यक्रम छ।

यस्तै, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि ५ दिने चीन भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। उनी चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणमा त्यसतर्फ गएका हुन्। प्रदेश ३ र गान्सु प्रान्तबीच गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो।
मुख्यमन्त्री पौडेलले गान्सु प्रान्तको लान्झाउ सहरमा आयोजना हुने विविध कार्यक्रमहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यहा रहँदा मुख्यमन्त्री पौडेलले मकवानपुरको महरी र सिन्धुलीको मरिणमा स्थापना हुने औदोगिक क्षेत्र सञ्चालनको विषयमा पनि छलफल गर्ने बताइएको छ । उनी असार २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

कार्यवाहकको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुलाईः
यसैबीच मुख्यमन्त्रीहरुको अनुपस्थितीमा प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी त्यहाँका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुलाई दिइएको छ। प्रदेश नम्बर १ मा हिक्मत कार्की, प्रदेश ३ मा शालिकराम जमरकट्टेल र प्रदेश ५ मा कुलप्रसाद केसीलाई कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो। स्रोत : कान्तिपुरदैनिक