अर्गानिक खाना खुवाउन एक होटललाई नगरपालिकाको अनुदान
गुगलपाटी संवाददाता काठमाडौंरुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिकाले अर्गानिक खाना खुवाउन एक होटललाई अनुदान उपलब्ध गराएको छ।
वडा नं ९ स्थित चित्रीपाटन होटलले सर्वसाधारणलाई अर्गानिक खाना खुवाउने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिएको हो।
खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको तथा स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा नगरपालिकाले अर्गानिक खाना खुवाउने होटल व्यवसायीलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत सो अनुदान दिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए।
‘मासुमा ब्रोइलर कुखुरा, आलु, टमाटर, सागलगायत तरकारी पनि तराईबाटै आउने र प्रयोग भइरहेको चामल पनि स्थानीय जातकोे हुन छाडेको छ’, उनले भने, ‘अझ भनौँ हामीलाई हाम्रो स्थानीय ढिँडो, सिस्नो, गुन्द्रुक खान लाज लाग्छ तर स्वास्थ्यका लागि हानिकारक बजारिया वस्तुको प्रयोगलाई बढावा दिइने गरेकाले त्यस्ता वस्तुलाई कम गर्न यस्तो कार्यक्रम ल्याएका हौँ।’
बाटो नै नपुगेको ठाउँमा पनि ब्रोइलर कुखुरा पाइनु, लहलह धान झुल्ने ठाउँमा पनि तराईको चामल खानुपर्ने, तरकारी र दाल जति पनि उत्पादन हुने ठाउँमा बजारकै तरकारी र दाल खुवाउनु दुखद् भएको प्रमुख केसीले बताए।
कर्णाली प्रदेश सरकारले अर्गानिक खाद्यपदार्थको अवधारणा अघि बढाएकाले त्यसलाई सफल बनाउन नगरपालिकाले हरेक क्षेत्रलाई अर्गानिक बनाउने अभियान थालेको उनको भनाइ थियो।
नगरपालिकाबाट प्राप्त अनुदानमा थप लगानी गरेर अर्गानिक होटल सुरु गरेका व्यवसायी अमृत बोहोराले आफ्नो भान्सामा विभिन्न प्रकारका अर्गानिक वस्तुको खाना पाक्ने गरेको बताए।
उनका अनुसार रातो मार्सीको भात, गहुँ, मकै, कोदो, फापरको ढिँडो तथा रोटी, सिमी, मुसुरो, मासको दाल, रायो, हरियो साग, सिमी, काउली, बन्दाकोभी, निगालोको टुसा, लिउरो, च्याउ, गावा र गुन्दु्रकको तरकारी, स्थानीय कुखुरा र खसीको मासु, भाँगो, टिमुर, अमला, गोलभेँडाको अचार र घिउका परिकार होटलमा राखिएको छ।
रु १० लाखको लागतमा सञ्चालन गरिएको सो होटलमा नगरपालिकाका विभिन्न ठाउँ तथा जुम्लाबाट ल्याएर पनि अर्गानिक परिकार पकाउने गरिएको व्यवसायी बोहोराले जानकारी दिए।
बजारमा पाइनेभन्दा स्थानीयस्तरमा पाइने खाद्यपदार्थ महङ्गो भए पनि स्थानीय उत्पादनलाई प्रोत्साहन दिन नगरपालिकाले अनुदानको व्यवस्था गर्नु राम्रो भएको उनको भनाइ थियो। रासस