जनताबाट उठाईएको करबाट प्रदेश ३ का सांसदलाई वैदेशिक भ्रमणका लागि २० लाख

गुगलपाटी संवाददाता हेटौंडा
२२ असार २०७६ ०६:१३

प्रदेश सभाका सदस्यहरुलाई आउँदो आर्थिक वर्षमा वैदेशिक भ्रमणका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । प्रदेश नम्बर –३ का सांसदहरुलाई वैदेशिक भ्रमणका लागि जनताबाट उठाईएको करको ठुलो रकम छुट्याइएको हो ।

प्रदेश सभा सचिवालयको खर्च शिर्षक नम्बर २२ हजार ५ सय २२ बाट रकम छुट्याएर वैदेशिक भ्रमणमा जान लागिएको हो । यो शिर्षकको बजेट पास र्भसंगै सांसदहरुलाई साउन महिनाबाट विदेश भ्रमण जान सरकारी रकम खर्च गरेर जानका लागि बाटो खुल्ला हुने छ ।

चालु आर्थिक वर्षमा कुनैपनि सांसदलाई वैदेशिक भ्रमणका लागि रकम नछुट्याएको थिएन । तर, आउँदो वर्षका लागि जनताको करबाट संकलन भएको रकम छुट्याइएको पाइएको छ ।

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले भने यसअघिका वर्षमा सांसदहरुलाई बैदेशिक भ्रमणमा रकम नदिएपनि आउँदो आर्थिक वर्षमा भ्रमणका लागि रकम छुट्याएको स्विकार गर्नुभयो ।

प्रदेश सभाका सदस्यहरु आफु खुसी घुम्न जानका लागि यो रकम छुट्याएको नभइकन प्रदेशको कामका लागि विदेश जानेहरुलाई मात्र २० लाख रकम खर्च गरिने सभामुख श्रेष्ठले बताउनुभो । प्रदेश सभामा स्विकृती लिएर काम विशेषले जान लागेकालाई मात्र खर्च गर्न सकने भएको उहाँले बताउनुभयो ।