विषादी परीक्षणको निर्णय गर्ने अनि फेरि रोक्ने यो कस्तो गाईजात्रा हो ? :-राष्ट्रियसभा सदस्य देवकोटा
गुगलपाटी संवाददाता काठमाण्डौप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले कसैको दबावमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नमिल्ने भन्दै उहाँले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, यो कस्तो गाईजात्रा हो सभाध्यक्ष ज्यू ? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबावमा आएर आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ र ?
उहाँले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ । स्रोत : उज्यालोअनलाईन