पत्रकार कार्कीमाथिको आक्रमणको युनियनद्वारा भत्सर्ना

गुगलपाटी संवाददाता  हेटौंडा
२२ असार २०७६ ०७:०६

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्सर्ना  गरेको छ ।

युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले नै निर्दोष पत्रकारमाथि ज्यान मार्ने नियतले निर्घात कुटपिट गर्नु निन्दनीय भएको उल्लेख छ । दुखद घटनाप्रति खेद प्रकट गर्दै पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै कार्कीमाथि आक्रमण गर्ने दुई प्रहरीलाई कडा भन्दा कडा कारबाहीको लागि हामी माग गरिएको छ । ‘पछिल्लो समय राज्ज्य पक्षबाटै पत्रकारमाथि हमला गर्ने क्रम सुरु भएको छ ।

दिनरात नभनी नागरिकलाई सुसुचित गर्न लागिपर्ने पत्रकारलाई निशाना बनाई आक्रमण हुनु लोकतन्त्रमाथिकै प्रहार हो ।’ विज्ञप्तिमा भनिएको छ ‘समाजलाई विकासको बाटोमा डोहो¥याउन नचाहने तथा धमिलो पानीमा माछा मार्न पल्किएका व्यवस्था विरोधी तत्वहरुबाट आम पत्रकारितामाथि आक्रमण भइरहेको छ ।’ पछिल्लो समय राज्यले नै नीतिगत रुपमा पत्रकारलाई निष्पक्ष भई पत्रकारिता गर्नबाट बाधा पार्न लागिरहेको युनियनको दावी छ ।

मिडिया काउन्सिल विधेयकलगायत विभिन्न सञ्चार सम्बन्धी विधेयकहरुमा समाचार लेखेकै आधारमा पत्रकारलाई जेल सजायँ तथा लाखौं रुपैयाँ जरिवाना गर्ने व्यवस्था लागू गर्ने कुचेष्टा भइरहेको विज्ञप्तिमा उल्लेख छ । ‘पछिल्लो समय पत्रकारमाथि भौतिक तथा नीतिगत आक्रमण गरी नेपाली सञ्चार जगतलाई कमजोर पार्न खोजिएको छ । पत्रकार कार्कीमाथिको आक्रमण त्यसैको एउटा उदाहरण हो । यसरी पत्रकारिता जगतमाथि भइरहेको आक्रमणका विरुद्ध नागरिक तहबाट पनि आवाज उठाइदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।