डडेल्धुराका विभिन्न वडामा तालाबन्दी, तालामाथि शंकास्पद वस्तु
गुगलपाटी संवाददाता डडेल्धुराडडेल्धुराका विभिन्न स्थानीय तहका वडामा तालाबन्दी गरिएको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
परशुरामनगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद वस्तु अड्काएर राखिएको सम्बन्धित वडा कार्यालयले जनाएका छन्। प्लाष्टिकमा बेरेर बम आकारको शंकास्पद वस्तु राखिएको परशुरामनगरपालिका-९ का वडाध्यक्ष रमेश बोहराले जानकारी दिए ।
शंकास्पद वस्तु भेटिएपछि प्रहरी परिचालन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । भेटिएको वस्तु बम नै भएको भने पुष्टि हुन सकेको छैन। तालाबन्दी र शंकास्पद वस्तु प्रतिबन्धित नेकपा विप्लवु समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ।