भिमफेदीको सुपिङमा पानी खुवाउन तीनै तहको सरकारको चासो , तीन बर्षभित्रमा खानेपानी योजना सक्काउने

गुगलपाटी संवाददाता हेटौंडा
२२ असार २०७६ १०:२०

मकवानपुरको भिमफेदी गाँउपालिका वडा नं.५ को तल्लो सुपिङ, माथिल्लो सुपिङ, खोला डाँडा, तल्लो ज्यामिरे माथील्लो ज्यामिरेमा पानी खुवाउनका लागि तीनै तहको सरकारले लगानी गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर –५ सुपिङमा पानी खुवाउनका लागि तीनै तहको सरकारले चालु आर्थिक वर्ष देखि तीन वर्षमा खानेपानी योजना सक्नेगरी यस वर्षबाट काम सुरु गरिएको छ । गाउँमा पानी ल्याउनका लागि स्थानीय महिला र पुरुष उत्तिकै खटिएका छन् ।

कुल ४ करोड ९२ लाख रुपैयाँ लागतमा तीन वर्षमा निर्माणको काम सक्नेगरी काम भईरहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । भिमफेदी गाउँपालिका वडानम्बर ५ धुरधुरेखोलाबाट पानी ल्याएर सुपिङ लगायतका क्षेत्रमा पानी खुवाउन लागिएको हो ।

वषौदेखि खानेपानीको समस्या बेहोर्दै आइका यहाँका वासिन्दाहरुका लागि अबको दुई वर्षमा पानीको सुबिधा पुग्ने छ । खानेपानीका लागि पाईप तान्ने, ट्याङकी निर्माण गर्ने लगायतका काम भईरहेको छ । यहाँ पानी ल्याउनका लागि संघिय सरकार, प्रदेश नम्बर ३ सरकार र भिमफेदी गाउँपालिका लागिपरेका छन् । तीनै तहका सरकारको लगानीमा ३ सय ६५ परिवारलाई पानीको सुबिधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । तीनै तहका सरकारले चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ खर्च गरेका छन् । यसमा भिमफेदी गाउँपालिकाले मात्र ३८ लाख रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।