बजेट सक्काउन ढलान माथि ढलान

गुगलपाटी संवाददाता धनुषा
२३ असार २०७६ ०६:४९

जनकपुरधाम उपमहानगरपालिका भित्रका कतिपय सडकमा ग्राभेलसमेत नहुँदा सर्वसाधारणहरु सुक्खामा धुलो र वर्षामा हिलोको मार खेप्दै हिँड्न बाध्य छन् ।

त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् । तर जनकपुरमै एउटा यस्तो बाटो छ । जुन बाटोमा ढलान गरिसकिएको छ तर बजेट सकाउन र भ्रष्टाचार गर्न ढलान गरिसकिएको सडकमा पुनः धमाधम ढलान गर्न थाएिको छ ।

उपमहानगरपालिका–११ मा पर्ने लक्ष्मण सागर पोखरीको उत्तर पश्चिमतर्फको बाटो शुक्रबारदेखि धमाधम ढलान गर्न थालिएको छ । उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँ बजेटमा झण्डै सय मिटर ढलान गरिएको बाटोलाई पुनः ढलान गर्न लागिएको हो । यो काम स्थानीय रामनारायण साह अध्यक्ष रहेको उपभोक्ता समितिले गर्न लागेको हो ।

वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र साहकै अगुवाइमा ढलान गरिसकिएको सडक पुनः ढलान भैरहेको छ । राम्रो र ढलान भइसकेको बाटोलाई किन ढलान गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा वडाध्यक्ष साहले बाटो गहिरो रहेकाले पुनः ढलान गर्न लागेको प्रतिक्रिया दिनुभयो ।

‘ढलान भएको बाटो राम्रो हुँदाहुँदै अहिले नै ढलान गर्नुपर्ने कुनै आवश्यकता थिएन । तर असारे बजेट सक्न र भ्रष्टाचार गर्नकै लागि ढलानमाथि नै पुनः ढलान गर्न लागिएको हो,’ स्थानीयको गुनासो छ । स्रोत : उज्यालोअनलाईन