बालिकाका शव जलाईरहेको अवस्थामा ७ जना पक्राउ
गुगलपाटी संवाददाता जनकपुरधनुषाको सबैला नगरपालिका वडा नम्बर– १ मा मध्यरातमा बालिका जलाइरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई मध्यरातमा जलाइरहेको अवस्थामा आधा दर्जन भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त समूहले गत राति झुन्डिएर पिंकीको मृत्यु भएको भन्दै प्रहरीलाई जानकारी नदिई जलाउने तयारी गरेको थियो । मृत्यु हुनेमा स्थानीय शत्रुधन यादवकी १४ वर्षीय छोरी पिंकीकुमारी यादव रहेकी छन् । उनी घरमै झुण्डिएको अवस्थामा परिवारजनले देखेका थिए ।
सोमबार मध्यरातमा घरभन्दा २ किलोमिटर टाढा सडक छेउमा उनको शव जलाइरहँदा प्रहरीले देखेपछि त्यहाँ उपस्थित सबैलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जलिरहेको शवलाई नियन्त्रणमा लिएको थियो भने बालिकाका बुवा शत्रुधन यादवलाई समेत नियन्त्रणमा लिएको थियो । शवको पोष्टपार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनामा पिंकीको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको भन्दै प्रहरी निरिक्षक चन्द्रमोहन यादवले बताए ।