शिक्षकको कुटाईबाट एक छात्रको मृत्यु

गुगलपाटी संवाददाता कञ्चनपुर
२५ असार २०७६ ०७:०२

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।

बैतडी शिवनाथ गाउँपालिका घर भई भीमदत्त नगरपालिका ५ बनगाउँमा मामाको घरमा बसेर अध्ययन गरिरहेका कलौनीलाई महाकाली बाल विद्यालयकै शिक्षकहरुले असार १३ गते कुटपिट गरेको परिवारको दाबी छ । शिक्षकहरुले विद्यालयमा खुकुरी ल्याएको भन्दै कुटपीट गरेका कारण माधवको खुट्टा भाँचिनु हुनुका साँथै छातीमा समेत चोट लागेको माधवका मामा पुष्पमणी जोशीले बताए ।
उक्त घटनापछि माधवका बुवा बृहस्पतिले उनलाई घर लगेका थिए । प्रहरीले छात्रलाई कुटपीट गर्ने ३ जना शिक्षकसँगै प्रिन्सिपललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । परिवारका तर्फबाट जाहेरी आएपछि थप कारवाही प्रक्रिया अघि बढ्ने एसपी दिनेश आचार्यले बताए ।