माछामासु बिकी सुचारु गर्न व्यवसायिलाई उपमहानगरपालिकाको आग्रह 

गुगलपाटी संवाददाता हेटौंडा
२५ असार २०७६ ०८:४०

माछामासु बिक्रि सुचारु गर्न माछामासु व्यवसायी संघलाई हेटौँडा उपमहानगरपालिकाले आग्रह गरेको छ । हेटौँडा बजार क्षेत्रमा मूल्य को विषयलाई लिएर विवादमा बन्द गरिएको बेचबिखन पुनः सुचारु गर्न आग्रह गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको उपभोक्तावादी संस्था र मकवानपुर उद्योग बाणिज्य संघसहितको बैठकले संघलाई यस्तो आग्रह गरेको हो ।

बैठकले मूल्य निर्धारणको विषय सरोकारवालाहरुको छलफल र गहन अध्ययनबाट टुंगिने विषय हुँदाहुँदै व्यवसाय बन्द गरी माग प्रस्तुत गर्नु गलत भएको निष्कर्ष निकालेको छ । उपभोक्ताले प्रयोग गर्ने उपभोग्य बस्तुको सहज आपूर्तिमा असर पुगेकोमा छलफल भएको थियो ।

बैठकमा जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, सुरक्षा निकाय, मकवानपुर उद्योग बाणिज्य संघ, उपभोक्तावादी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।बैठकले यथावत मूल्य र अवस्थामा तत्काल व्यवसाय सुचारु गरी व्यवसायीका आफ्ना केही विषय भए छलफल गर्न सकिने व्यवहोरा सम्बन्धितलाई जानकारी गराउने निर्णय गरेको छ ।

मकवानपुर माछा मासु ब्यवसायीले हेटौँडासहित मकवानपुरमा सोमबारबाट माछामासु बिक्री ठप्प पारेको छ । मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकी खड्गीले जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले असार १ गतेबाट मासुमा प्रति किलो १०० रुपैया बृद्धी गरेकोमा १७ दिन पछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मुल्यबृद्धि प्रति आक्षेप लगाएकोले बाध्य भएर अश्चितकालीन माछामासु बिक्री वितरण ठप्प गर्ने निर्णय गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया