क्रिकेट रंगशाला निर्माणमा फर्किन अपिल
गुगलपाटी संवाददाता चितवनस्थानीयबासीको एउटा समूहले निमार्ण स्थलमा लगाएको बारमा डोजर लगाएपछि गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ । जोडर लागेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको साइड अफिस बन्द गरेर काम रोकेको थियो ।
डोजर लगाएको आरोपमा पक्राउ परेकाहरु छुटिसके भने स्थानीयबासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिवद्धता जनाएका छन् । तर स्थगीत गरिएको निर्माणको काम अझै अगाडि बढेको छैन ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीको संयोजकत्वमा बनेको मूल समितिले कार्य पूर्वयोजना अनुसार काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरेको छ । संयोजक डल्लाकाटी र र भरतपुर महानगर प्रमुख रेनु दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै वातावरण सहज बनेको र र आवश्यक सम्पूर्ण सहयोग गर्न सबै तयार रहेको बताएका छन् ।
सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर ५००१ सदस्यीय गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवन गठन गर्ने निर्णय पनि भएको छ । आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने सहमति पनि छ । रंगशाला निर्माणका लागि घोषणा गरिएको रकम छिटो जम्मा गर्न आग्रह गरिएको छ भने चन्दा रकममा कर छुटको निम्ति भरतपुर महानगरपालिले पहल गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
रंगशाला निर्माणका लागि भरतपुर महानगरले ६ करोड ४५ लाख र प्रदेश नम्वर तीन सरकारले ५ करोड रकम विनियोजन गरेको छ । चितवनका विभिन्न संघसंस्थाले सहयोगको घोषणा गरेका छन् तर, रकम उठ्न बाँकी नै छ ।
छिट्टै काम सुरु गर्छौं
धुर्मस–सुन्तली फाउण्डेशनले पनि रंगशाला निर्माणको काम यथाशक्य छिटो अघि बढाउने बताएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले रंगशाला बनाउन योजनामा फाउण्डेशन विचलित नभएको बताए ।
फाउण्डेशनले रामपुरमा बन्द रहेको साइट कार्यालय खोल्ने र शिलान्यास अघि गर्नुपर्ने बाँकी कामहरु गर्ने बताएको छ । डीपीआरको काम भइरहेको छ भने आगामी भदौभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भइरहेको धुर्मसले बताए ।
स्रोत : अनलाईनखबर