लैंगिक हकको समर्थन गर्दै निकी मिनाज साउदी अरब नजाने
गुगलपाटी संवाददाता वासिङ्टनअमेरिकी र्यापर निकी मिनाजको साउदी अरबमा हुने ‘म्युजिक फेस्टिबल’को प्रस्तुती रद्ध भएको छ ।
मिनाजले आफैँ उक्त कार्यक्रममा आफू जान नसक्ने कुरा सार्वजनिक गरेकी छन् । महिला स्वतन्त्रता तथा तेस्रोलिंगीहरुको हकमा ऐकवद्धता जनाउँदै उनले आफ्नो कार्यक्रम फिर्ता लिएको बताएकी छन् ।
साउदी अरबमा यही जुलाई १८ मा हुने ‘म्युजिक फेस्टिबल’मा निकी मिनाजको पनि प्रस्तुती तय गरिएको थियो । तर यहाँको मानवअधिकार आयोगको आग्रहपछि मिनाजले महिला अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतामा समर्थन जनाउँदै कार्यक्रम फिर्ता लिएकी हुन् । गत साता मात्रै आयोगले मिनाजलाई पत्र नै लेखेर उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गरेको थियो ।
मंगलबार मिनाजले उक्त प्रस्तुती फिर्ता लिएको सार्वजनिक गरेपछि मानवअधिकारवादी संस्थाले उनको प्रसंसा पनि गरेका छन् । साउदी अरबको कानुनले अहिले पनि अधिकांश सार्वजनिक स्थलमा पुरुष र महिलालाई सँगै भेटघाट गर्न र गफिएर बस्न प्रतिबन्ध लगाएको छ ।