मकवानपुरका नेपालीले पोखरामा श्रीमतीको हत्या गरेको २५ दिनपछि जंगलमा अस्थिपञ्जर फेला

गुगलपाटी संवाददाता पोखरा
२६ असार २०७६ ०६:०१

पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका फेला परेको छ।

मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाइल पसल गरी बस्ने ३५ वर्षीय रमेश नेपालीले श्रीमती २८ वर्षीया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपञ्जर फेला पारेको हो।

सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्थिपञ्जर भेटिएको हो।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ।

लक्ष्मीको अस्थिपञ्जर बुधबार बिहान फेला परेको हो। लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवारकै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भइरहेको बताए।

शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ। श्रीमानलाई हत्या आरोपमा पक्राउ गरिसकेको प्रहरीले जनायो।

२५ दिनसम्म किन शवको गन्ध थाहा भएन

हत्या भएको २५ दिनसम्म पनि शवको गन्ध किन आएन रु सबैको प्रश्न छ। मानिसको शव एक दुई दिनमा नै गन्ध आउन थाल्छ। तर लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानीय झुक्किएको एक प्रहरीले जानकारी दिए। स्रोत :- सेतोपाटी