बाढी र पहिरोमा परि राजधानीमै चारजना बेपत्ता, कलंकी डुबानमा

गुगलपाटी संवाददाता काठमाडौं
२७ असार २०७६ १०:२८

बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी राजधानी काठमाडौंमा चार जना बेपत्ता भएका छन्।

काठमाडौंको मूलपानीमा गएको पहिरोमा तीन जना पुरिएका छन्। घरको गाह्रो भत्किएर टहरामा बसिरहेको बेला शुक्रबार दिउँसो टहरोलाई पनि पहिरोले पुरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पहिरोमा पुरिएकाको अवस्था पत्ता लागेको छैन। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार एक्साभेटरको सहायताले प्रहरीको उद्धार टोलीले पुरिएकाको खोजी गरिरहेको छ।

यस्तै, कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनको खोजी भइरहेको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।

प्रहरीका अनुसार मुलपानीको स्वास्थ्य चौकी पहिरोले पुरेको छ। बाढीले कीर्तिपुर, कालिमाटी, कुलेश्वरलगायत क्षेत्र बढी जोखिममा छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार टोली सक्रिय रहेको प्रवक्ता बोगटीले जनाए। स्रोत : सेतोपाटी