बाढी र पहिरोमा हराएका सिन्धुलीका तीनको शव भेटियो, चार अझैं वेपत्ता
गुगलपाटी संवाददाता सिन्धुलीसिन्धुलीमा बाढी र पहिरोले बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ भने अझै चारजना वेपत्ता छन्। पहिरोले घरसहित बगाउँदा शनिबार वेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलकी श्रीमती र छोरीको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ।
शनिबार घरसहित पहिरोले बगाउँदा वेपत्ता भएकी पौडेलकी श्रीमती ३० वर्षीय सुनिता पौडेल र उनकी छोरी १० वर्षीय सविता पौडेलको शव दुधौली नगरपालिका ११ र १२ को सिमाना सिसेन र ठाकुरखोलाको दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जनाए ।
श्रीमती र छोरीसँगै शनिबार वेपत्ता पौडलका छोरा सागर पौडल भने अझै वेपत्ता छन्। उनको खोजिकार्य जारी रहेको सिंहले बताए। उता आइतबार सिन्धुलीकै सुनकोसी गाउँपालिका र काभ्रेको रोसी गाउँपालिकाको सिमानामा अन्दाजी २५-३० वर्षका एक पुरुषको रोसीले बगाएर ल्याएको अवस्थामा शव भेटिएको छ। उनको पहिचान हुन नसकेको स्थानीय प्रगतीशिल माविका प्रद्यानध्यापक चक्रबहादुर श्रेष्ठले जानकारी दिए।
यसैबीच शुक्रबार राति कमला नदीले घरसहित बगाउँदा वेपत्ता दुधौली नगरपालिका ४ बस्ने रेणु कापरी, उनका वर्ष ७ को छोरा आधिं कापरी, वर्ष १ को छोरा सार्गन कापरी र उनको आमाजु वर्ष ६० की मरणी कापरी अझै फेला पर्न सकेका छैनन्। उनीहरुको शनिबार राति अबेरसम्म र आइतबार बिहानैदेखि खोजतलास गरिरहेको भएपनि अझैं फेला पार्न सकिएको छैन, सिंहले भने।