सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी घर परिवार विस्थापित
गुगलपाटी संवाददाता राजविराजचार दिन यताको अविरल वर्षापछि पसेको बाढीले ठाउँ ठाउँमा बाध भत्काउँदा जिल्लामा घर डुवान तथा बिस्थापनमा पर्नेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् ।
आइतबार बिहानैदेखी वर्षा केही बेर रोकिने र पुनः सुरु हुने गरेकाले बिस्थापितको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ । बाढीले गर्दा सबभन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिका क्षेत्रबाट बिस्थापित भएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यसपछि राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, महदेवा गाउँपालिका, खडक गाउँपालिका र तिरहुत गाउँपालिकाका केही वडाका बाढीपीडित बिस्थापित भई सुरक्षित स्थानमा आश्रय लिई बसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिइन् ।
त्यस्तै चारैतिर कोशी नदीले घेरिएको गोबरगाढाका ५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् । बाढीपीडितहरुले विभिन्न संघसंस्था र स्थानियतहबाट प्रारम्भिक राहत स्वरुप चिउरा, मुरही, चाउचाउ, बिस्कुट लगायतका सामाग्रि प्राप्त गरे पनि प्रत्येक वर्ष बाढीबाट हुने पीडालाई कम गर्न समस्याको स्थायी समाधान चाहेको बताएका छन् ।
हामीलाई वर्षेणी वर्षायामका बेला हुने कष्ट र पीडालाई कम गर्ने उपाय चाहिएको छ, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। ७ का बाढीपीडित सत्यनारायण मुखियाले भने, “हामी चाउचाउ, बिस्कुट भन्दा पनि बाढीको दिर्घकालिन समाधान चाहन्छौं ।”
बाढीबाट हुने क्षति न्यूनिकरण तथा राहतका लागि सेना र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बाढीले ठाउँ ठाउँमा भत्काएको बाँध मर्मतमा सेना, प्रहरी र स्थानियहरु मिलेर काम गरिरहेको उनको भनाई छ ।
यद्दपी खाँडो नदीमा अत्याधिक बाढी रहेका कारण बाँध मर्मत कार्य प्रभावित बनेको विपद् जोखीमन्यूनिकरण अधिकृत राजेश झाले बताए । निरन्तरको वर्षाले सप्तकोशी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका गरि चार स्थानमा बाँध भत्काएको र ती सबै स्थानमा सेना र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ ।