‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ भन्दै मन्त्री पण्डितको राजीनामाको माग गर्दैै काठमाडौंमा प्रदर्शन
गुगलपाटी संवाददाता काठमाण्डौसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाण्डौमा प्रदर्शन गरिएको छ ।
समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔंँ आन्दोलनले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाब दिएका छन् ।
‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ ।
यसअघि विज्ञापन खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।