बिल गेट्सलाई उछिन्दै दोश्रो धनी बने बर्नाड अर्नल्ट

गुगलपाटी संवाददाता एजेन्सी
१ श्रावण २०७६ ०८:१४

सात वर्षको अवधिसम्म ब्लुमबर्गको अर्बपतीको सूचीमा दोश्रो स्थानमा रहेका धनाढ्य व्यापारी बिल गेट्स तेश्रो स्थानमा पुगेका छन् ।

उनलाई उछिन्दै दोस्रो स्थानमा उक्लने व्यापारी हुन् बर्नाड अर्नल्ट ।

फ्रान्सका लक्जरी सामान निर्माता कम्पनी एलभीएमएचका अध्यक्ष तथा सिइओ रहेका उनको सम्पत्ती ह्वात्तै बढेसँगै बर्नाडले माइक्रोसफ्टका मालिकलाई उछिनेका हुन् । यस सूचीमा अमेजनडटकमका मालिक जेफ बेजोस पहिलो स्थानमा रहेका छन् ।

सन् २०१८ मा कीर्तिमानी नाफा कमाएका बनार्डको कुल सम्पत्ती १ सय ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । उनको सम्पत्ती गेट्सको भन्दा २ अर्ब डलरले बढि भएको छ । सन् २०१९ मा कमाइ उल्लेख्य भएपछि शेयर बजारमा उनको शेयरका मुल्य तिब्र रुपमा अघि बढेको छ ।

ब्लुमबर्गको अर्बपतीको सूचीमा रहेका ५ सय व्यक्तिहरुमध्ये बनार्डको यो वर्ष सबैभन्दा धेरै कमाइ रहेको बताईन्छ । यस सूचीमा रहेका धनाढ्यअरुको नेटवर्थ हरेक दिन अमेरिकी शेयर बजार बन्द भएपछि अद्यावधिक गर्ने गरिएको छ ।

७० वर्षीय बर्नाडको कम्पनीले सौन्दर्य प्रसाधनका साधन लगायत घडी, ब्यागहरु उत्पादन गर्ने बताईन्छ । विश्वभर चर्चित यस ब्राण्डले समयकालसँगै बजार पनि विस्तार गर्दै गइरहेको छ ।