प्रदेश तीनको पहिलो अधिवेशनः ११ दिनमा १९ बैठक सम्पन्न

गुगलपाटी संवाददाता मकवानपुर,१९ बैशाख
१९ बैशाख २०७५ ११:०१

प्रदेश नम्बर ३ को प्रथम अबिधेशन गत माघ १८ मा शुरु भई बैशाख १४ गतेबाट सकिएकोछ । यस बारे प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले यस अवधिमा प्रदेश सभाले गरेका कार्यहरुको संक्षिप्त जानकारी आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत गराएका छन् । सभामुख श्रेष्ठले पहिलो अबिधेशनबाट सभामुख, उपसभामुखको निर्वाचन, प्रदेश सरकार गठन, लोगो र ड्रेस कोड निर्धारण, कार्यव्यवस्था समिति लगायत सार्वजनिक लेखा, प्रदेश मामिला, अर्थ, पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रका लागि समिति गठन भएको जानकारी दिएका छन् ।
यसै गरी प्रथम अबिधेशनले सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४, प्रदेश सभा नियमावली २०७४, सरकारको अनुमानित आयव्यय विवरण, स्थानीय निकाय सञ्चालन कार्यविधिको विधेयक सहित प्रदेश सभाका सदस्य, मुख्यमन्त्री, मन्त्रीहरुको सुविधा सम्बन्धि विधेयक प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको बताएका छन् ।
यसै गरी आगामी दिनमा केन्द्र सरकारबाट पाउने अनुदान, प्रदेशको आकस्मिक कोषका बारेमा समेत आफ्नो दायित्व भित्र रहेकोले यसको कार्यान्वयनमा प्रदेश सरकार सचेत रहेको जानकारी दिएका छन् । पहिलो अबिधेशनले मुख्यतया कानूनी जटिलतालाई पञ्छाउदै विकास निर्माण कार्यलाई अघि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् ।
प्रदेश नम्बर ३ को पहिलो अबिधेशन अबधि ११ दिनको रहेको छ भने, ११ घण्टा ४३ मिनेट बैठक बसी कूल १९ वटा बैठक सम्पन्न भएका छन् ।