विपन्न तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षामा सहयोगका लागि अक्षय कोष

 बद्रीबहादुर पाठक             
१ श्रावण २०७६ ११:३३

विषय सन्दर्भ

एक दुइवर्ष यता चिने जानेका युवा पुस्ताका महानुभावहरुको अकल्पनीय मृत्यु भएको घटनाले मनलाई छटपटी बनाइरहेको छ । मृत्यु अवश्यम्भावी छ तर अपत्यासित हुने त्यस प्रकारका घटनाले हाम्रो समाजमा त्यस व्यक्तिको देहान्त पछि परिवारका अन्य सदस्यलाई पर्ने दायित्व कसरी पुरा गर्ने होला भनेर मन्थन गरिन्छ ।

सामान्यतया नेपालीको औषत आयुको आधा उमेर पनि नपुग्दै एक्कासी दूर्घटनामा परेर ज्यान गुमाउनु, कडा रोग लागेर मृत्यु हुनु र नसर्ने रोगका कारण एक्कासी ज्यान जानु र कही कतै अर्कैको कारणले ज्यान जाँदा भैरहेको पारिवारिक संरचनामा ज्यादै ठूलो असर गर्दो रहेछ ।

कुनै न कुनै पेशा व्यावसायमा लागेर नियमित आम्दानी भएको व्यक्तिको अवसानले परिवारको घरखर्च लगायत वालवालिकाको शिक्षादीक्षामा गम्भीर समस्या पर्ने रहेछ । केही समय अगाडि मकवानपुरकै एक इमान्दार, कर्मशील शिक्षक मारिएको घटनाले पनि यस्तै यस्तै अवस्था देखायो । नेपाली समाजको पारिवारिक संरचना अनुसार मूली वा आर्जन गर्ने एक व्यक्तिको मृत्यु हुँदा आर्थिक लगायत सामाजिक पक्षमा तत्कालै ठूलो खाडल पर्ने गर्दछ ।

यस्ता प्रकृतिका कारण मृत्युभएका परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने विषयमा पटक पटक पेशाकर्मी साथीहरुबीच सामुहिक कोषको बारेमा चर्चा समेत गरियो तर भ्यागुुताको धार्नी पुग्न सकेको थिएन । समाजमा रहेका सचेत वर्ग, नागरिक समाजका अगुवा, पेशाकर्मी र व्यावसायीहरुले यस्ता घटना वा दूर्घटनामा मारिएका बालबालिकाको शिक्षामा सहयोग गर्न कुनै कोष पो स्थापना गर्न पाए हुने थियो कि भनेर एकाध स्थान र कुनै सार्वजनिक समारोहमा चर्चा गरिएकोमा हाल त्यसको सार्थक रुप प्रदान गर्न खोजिएको छ ।

क्रियाशील वा सक्रिय नागरिकको जिम्मेवारी वोधका साथ एउटा सानो प्रयास स्वरुप विपन्न तथा विभिन्न कारणले अभिभावक गुमाएका बालबालिकाको शिक्षामा सहयोग गर्ने हेतु शैक्षिक सहयोग अक्षय कोषको स्थापना गर्न थालिएको छ । सामाजिक संस्थाको रुपमा स्थापना हुने उक्त कोषको अवधारणाको बारेमा बहस र छलफल गर्ने प्रयासका लागि छोटो लेखमा केही विषयवस्तु प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

अक्षय कोषको अवधारणा

शिक्षा मानव जीवनको लागि महत्वपूर्ण आधारस्तम्भ हो । न्यूनतम रुपमा विद्यालय तहको शिक्षा प्राप्त गर्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार मानिन्छ । शिक्षा प्राप्त गर्नका लागि विद्यालयको पँहूच, न्यूनतम सिकाइ वातावरण, आवश्यक सामग्री र घरपरिवारका सदस्यहरुको भूमिका अतुलनीय रहन्छ । शिक्षामा पहूँच विस्तार तथा गुणस्तरीय शिक्षाका लागि सरकारी तथा गैरसरकारीतर्फबाट विभिन्न प्रयासहरु भएका छन् तैपनि समुदायभित्रका कुनै न कुनै वर्ग वा तप्काका बालबालिकाले विभिन्न कारणले सहज तरिकाबाट शिक्षा प्राप्त गर्न सकेका छैनन् ।

विशेषगरी आर्थिक सामाजिक रुपले पछाडि परेका वर्गका वालवालिका र विभिन्न कारणले आमाबाबु गुमाएका वालवालिकाहरुले आफ्नो पठनपाठन अगाडि बढाउन सकेको पाइदैन । हाम्रो संविधानले आधारभुत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख गरेको अवस्थामा त्यस्ता किसिमका वालवालिकाको शिक्षालाई निरन्तरता प्रदान गर्न कुनै न कुनै प्रकारको सहयोग हुन जरुरी छ ।

सबैका लागि शिक्षा भन्ने मर्मलाई सार्थक बनाउन केन्द्रदेखि स्थानीय तहसम्मका सरकार तथा विभिन्न संघसंस्थाले छात्रवत्ति लगायत शैक्षिक सहुलियतका कार्यक्रमहरु सञ्चालन गरेका छन् । त्यसरी सञ्चालन गरिएका कार्यक्रमले मात्र समुदायभित्रका विपन्न र अभिभावक गुमाएका वालवालिकाहरुको आवश्यक्तालाई समेट्न सकेको देखिदैन  ।

सरकारीक्षेत्रबाट बाहेक नागरिक तथा विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरुका तर्फबाट अत्यन्त विपन्न र अभिभावक गुमाएका विद्यार्थीको शैक्षिक यात्रालाई निरन्तरता प्रदान गर्ने मूल उद्देश्य लिएर पुरानो पुस्ताकोतर्फबाट नयाँ पुस्तालाई उपहार स्वरुप शैक्षिक सहयोग  अक्षयकोष २०७६ को स्थापना गर्न लागिएको हो  ।

 उद्देश्य

यस संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्थाको रुपमा स्थापना हुनेछ । संस्थाको मूल उद्देश्य निम्न बमोजिम  रहने प्रस्ताव गरिएको छ ।

  • नागरिक, पेशाकमीर्, व्यावसायी, सामाजिक व्यक्तित्वहरुबाट शैक्षिक सहयोगका लागि अक्षय कोष स्थापना गर्नु ।
  • विपन्न, सीमान्तकृत, र आमाबाबु गुमाएका वालवालिकाहरुको शैक्षिक सुधारका लागि विभिन्न किसिमको सहयोग पुर्याउनु
  • विद्यालयको शैक्षिक सुधार तथा विकासका लागि विभिन्न किसिमको सहयोग पु¥याउनु
    शैक्षिक गुणस्तर सुधारका लागि शिक्षासंग सरोकारवालाहरुलाई उत्प्रेरित गराउनु र यसका लागि आवश्यक सहयोग गर्नु ।

 सम्पादन गरिने कार्यहरु

  • नेपाल सरकारको प्रचलित कानून वमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी माथि उल्लिखित उद्देश्य कार्यान्वयनका लागि निम्नानुसार कार्यहरु गरिनेछ ।
  • अक्षयकोषको विधिवत दर्ता पश्चात कोषको विस्तारलाई निरन्तरता दिन कोषमा आवद्धताका लागि नागरिक तथा सरोकारवालाहरुलाई उत्प्रेरित गर्ने ।
  • विपन्न र अभिभावक गुमाएका वालवालिकाहरुको शैक्षिक कल्याणका योजनाहरु तयार गर्ने तथा तिनको शर्तहरु निर्धारण गर्ने ।
  • विद्यालयको शैक्षिक, भौतिक लगायत पूर्वाधार विकासका लागि दाताहरुको खोजी गरी विद्यालय सुधारका लागि समन्वय गर्ने  ।
  • कोषको विस्तारका लागि विभिन्न किसिमका सदस्यताको विस्तार गर्ने ।
    कोषबाट वार्षिक रुपमा वितरण गरिने छात्रवृत्ति वितरणका आधारहरु तयार गर्ने र छात्रवृत्तिका विधाहरु निर्धारण गर्ने ।
  • कोषको विस्तारका लागि विभिन्न समिति  र उपसमितिहरु गठन गर्ने  ।
    सदस्यता

 अक्षयकोषको सदस्यता निम्नानुसार पाँच प्रकारका हुने प्रस्ताव गरिएको छ ।

  • साधारण सदस्य :– साधरण सदस्य हुन आवेदन गरेको नागरिक जसले कोषमा वार्षिक रुपमा न्यूनतम रु १०००।– देखि १५००।– रकम योगदान गरेको हुनुपर्ने  ।
  • संस्थापक सदस्य : – संस्था दर्ता हुने समयसम्म कोषमा रकम प्रदान गर्ने व्यक्ति संस्थापक सदस्य हुने । यस्तो सदस्यताका लागि कोषमा न्यूनतम रु. ५०००।– रकम योगदान गरेको हुनुपर्ने ।
  • आजीवन सदस्य :– कोषको विकासको लागि बिशेष सहयोग पु‌¥याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिने । यस्तो सदस्यताका लागि कोषमा न्यूनतम रु १०,०००।– रकम
  • योगदान गरेको हुनुपर्ने साथै संस्थागत सदस्यका लागि कम्तीमा २००००।– रकम योगदान गरेको हुनुपर्ने ।
  • विशिष्ट सदस्य :– कोषमा रु १५,०००।– (पन्ध्र हजार) वा सो भन्दा माथिको रकम जम्मा गर्ने महानुभावहरुलाई विशिष्ट सदस्यता प्रदान गरिने ।

समितिको व्यवस्था

जिल्लाका सबै क्षेत्रका व्यक्तिहरु समेटिने गरी कम्तिमा ९ सदस्यीय तदर्थ समिति गठन गरि संस्था दर्ताको कार्य अगाडि बढाइएको छ  । समितिमा नागरिक समाजका अग्रज, जनप्रतिनिधी, सञ्चार क्षेत्र, पेशाकर्मी, वुद्धिजिवी, उद्योग क्षेत्रका महानुभावहरु रहनुभएकोे छ । मिति २०७६.०३.३१ गते जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा आयोजित भेलाबाट समन्वय समिति प्रमुखज्यूको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा उपसमिति गठन भई कार्य प्रारम्भ भएको छ ।

अन्तमा

‘तपाइ जहाँ हुनुहुन्छ, तपाइसंग जे छ त्यहीबाट शुरु गरौं” भन्ने पाउलो फ्रेरको भनाईलाई ध्यान दिदै हामीले सामाजिक संस्थाको रुपमा संस्था दर्ता गरी बढी भन्दा बढी नागरिकलाई यस कार्यमा सहभागी गराउने र दरिलोे अक्षय कोषको व्यवस्था गर्न सबैको रचनात्मक सहयोग तथा भूमिका जरुरी पर्दछ ।

अपनत्वबोध र पारदर्शिता संस्थाका मूल पक्ष हुन् । संस्थालाई अगाडि बढाई प्रथमत मकवानपुर जिल्ला अनि क्रमश अन्य जिल्लामा समेत रहेका विपन्न सीमान्तकृत र अभिभावक गुमाएका नानीबाबुहरुको शिक्षामा सहयोग गर्न सबैको हातेमालो जरुरी छ ।

यसको बहस र छलफलका लागि सम्बद्धसबैसंग अनुरोधका साथ सहकार्यमा हातेमालौ । शिक्षा विकास र पहूँचविहिनका लागि हुनेले वा सक्नेले सहयोग गरौ ।