बाजुरामा जिप दुर्घटना, चालक सहित २ जनाको मृत्यु, १२ घाईतेको हेलिकप्टरमार्फत उद्धार

गुगलपाटी संवाददाता बाजुरा
३ श्रावण २०७६ १०:४७

शुक्रबार बिहान बाजुराबाट कालीकोट गइरहेको जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ती १२ जना घाईतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।

दुर्घटनामा घाइते हुनेमा मुगुको खत्याड गाउँपालिका–६ बस्ने २८ वर्षका उभजंग बहादुर शाही, सोही वडा बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट बताए।

यस्तै बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैतीका ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकालेहेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज लगिएको भाटले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

दुर्घटनामा कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जिप चालक रमेश बोगटी र मुगुको खत्याड गाँउपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुईजनाको सकुशल उद्धार गरिएकोथियो। प्रहरीका अनुसार कर्णाली करिडोर अन्तरगत जगन्नाथ गाउँपलिका–पीलुचौरबाट कालिकोटकोजितेगडा जाँदैगरेको क १ ज २१ नम्बरको जीप उकालोमा चढ्न नसक्दा ५० मिटर तल खसेको हो।

जीप बिहान ८ः३० मिनेटमा दुर्घटना भएको हो। घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो।