भिसिटिएसलाई अधिकृत विक्रेतासम्म मात्र लागु गर्न माग
गुगलपाटी संवाददाता हेटौँडाअधिकृत विक्रेताहरुले सरकारले साउन १ गतेबाट लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अधिकृत विक्रेता तहसम्म मात्र लागु गर्नको लागि डिलर यशोसियन मकवानपुरले आग्रह गरेको छ ।
आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यशोसियसनले सरकारले लागु गरेको नियम अहिलेको परिवेषमा होलसेल तथा खुद्रा ब्यवसाय तहमा लागु गर्न असहज अवस्था आएको भन्दै यो नियम आफुहरुको तहसम्म मात्र लागु गर्नको लागि आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल अधिकृत विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष विजयकुमार श्रेष्ठले सरकारले लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) डिलर तहमा मात्र लागु गर्न सकिने अवस्था रहेको बताए । गाउँगाउँमा अझसम्म विद्युत तथा इन्टरनेटको सुविधा नरहेको अवस्थामा उक्त नियम कार्यन्वयन गर्नको लागि सहज अवस्था नआएको उनले बताए ।
त्यस बाहेक सरकरले लागु गरेको मजदुर ज्यालाको विषय समेत आफुहरुलाई मान्य नहुने बताए । आफुहरु कर्मचारीलाई राज्यले तोके अनुसारको नियममा रहेर तलब दिन तयार रहेको तर मजदुरको हकमा भने समस्या भएको उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघ मकवानपुरका सदस्य माधव ज्ञावलीले अधिकृत विक्रेता संघको आन्दोलनमा आफुहरुको समर्थन रहेको बताए । उनले सरकारले आवश्यक गृहकार्य नगरी यस्तो निर्णय गर्दा समस्या आएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै अधिकृत विक्रेता संघ मकवानपुरका अध्यक्ष चक्रधर विडारीले सरकारले गृहकार्य नगरी नियम लागु गर्दा आफुहरु ब्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा आएको हुँदा नियम संसोधन गर्नको लागि अनुरोध गरेका छन् । संघले पत्रकार सम्मेलन गर्नुअघि हेटौँडामा विरोध र्याली समेत गरेको थियो ।