जनताले कम्युनिष्टको विकल्प खोज्न थालेः रामचन्द्र पौडेल

गुगलपाटी संवाददाता हेटौंडा
६ श्रावण २०७६ ११:३२

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले कम्युनिष्टको विकल्प खोज्न थालेको बताएका छन् । विपि कोइराला ट्रष्टको आयोजनामा भएको गोष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको काम देखेर जनताले गरेको विश्वास उडेको बताएका हुन् ।

उनले वर्तमान सरकारले जहाँ छोयो त्यहिँ भ्रष्ट्रचार भएको बताए । उनले नेपाली कांग्रेसले पनि आफुले गरेको गल्तिहरुलाई स्विकार गर्नुपर्ने समेत बताएका छन् । यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय “डीना”ले कांग्रेस भित्र सँधै जिम्मेवारी पाउँदा पनि पद पाएन भन्दा विपी प्रति लज्जाबोध भएको बताईन् ।

उनले सत्ताको लालचले प्रजातन्त्र नै खतरामा परेको बताईन् । यस्तै ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले कम्युनिष्टहरुको अराजकता विरुद्ध लड्न कांग्रेस एक हुनु पर्ने बताएका छन् । उनले कांग्रेस भित्र मागेर भएपनि गाडी चढ्ने प्रवृतीले विपिको सम्मान नहुने तर्क गरे ।

जननायक विपि कोइरालाको स्मृतिमा हेटौंडामा विचार गोष्ठी भएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश नम्बर ३ कि साँसद जीवन डङ्गोल, काङ्ग्रेस मकवानपुरका प्रमुख सल्लाहकार रामचन्द्र अर्याल “माइकल” निवर्तमान सभापति रघुरमण न्यौपाने लगायतले विपिको नेपाली राजनीतिमा योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम ट्रष्टका अध्यक्ष डा. शशांक कोइरालाको अध्यक्षतामा भएको हो ।