हेटौंडामा फेरि वर्षा ! पिप्ले र गर्दोही डुबानको जोखिममा

गुगलपाटी संवाददाता
८ श्रावण २०७६ ०३:३२

हेटौंडा: हेटौंडा -५ पिप्ले मत्यपालन केन्द्रका वरपरका ४-५ घर डुबानको जोखिममा रहेको प्रहरीको भनाई छ । यस्तै हेटौंडा- ५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा,मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथ बाहेक अन्य राजमार्ग भने संचालनमा रहेको छ ।
मंगलबार राति देखि परेको अविरल वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडा तर्फ आएको ट्रक डुबेको छ । डुबेको ट्रक खोलाले बगाउन नसक्दा मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
हेटौंडा १७ स्थित कर्रा खोलामा हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६टि ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा डुबेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको हातीसुडेमा १० मिटर पहिरो खस्दा पुर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटो रोकिएको छ ।